समाचारशनिबार, आश्विन १३, २०६९
प्रधानमन्त्रीले पद छाड्नुको विकल्प छैन: यादव
राजधानीमा १३ असोजमा आयोजित पत्रकार साक्षात्कारमा उनले मुलुकलाई निकास दिने विषयमा राष्ट्रपतिले नै अब सशक्त कदम चाल्नुपर्ने भन्दै राजनीतिक दलहरूलाई ‘सहमतिमा निकास देउ, कि बाटो छाड’ भनेर चेतावनी दिनुपर्ने अवस्था आइसकेको वताए ।
साक्षात्कारका अर्का वक्ता नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले राष्ट्रपतिले दलहरूसँग अब गर्ने बैठकमा मुलुकलाई निकास दिन समयसीमा तोकेर जानुपर्ने भन्दै नयाँ सरकार गठन गरेर राष्ट्रपति विवादमा पर्न नहुनेमा जोड दिए । उनले माओवादी अहिले पनि झुक्याएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा रहेकाले आन्दोलनबाट विस्थापित गरी सहमतिको सरकार निर्माण गरेर निर्वाचनमा जानु जरुरी भएको धारणा व्यक्त गरे ।
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले असोजभित्रै सहमतिको सरकार गठन भइसक्नुपर्ने भन्दै सहमति जुट्न नसके स्वतन्त्र व्यक्तिको नेतृत्वमा भए पनि निर्वाचनमा जानुपर्ने वताए ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले संवैधानिक र राजनीतिक सङ्कटको गाँठो फुक्न नसकेको अवस्थामा प्रधानमन्त्री डा बाबुराम भट्टराई निरन्तर सत्तामा रहन नसक्ने बताइन् । उनले मुलुकलाई निकास दिन राष्ट्रपतिले प्रजातान्त्रिक पद्धतिका आधारमा ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै दलहरूले सहमतिको सरकार दिन नसकिरहेको अवस्थामा संविधानका रक्षकका नाताले पनि राष्ट्रपतिले नयाँ प्रधानमन्त्री दिनुपर्ने टिप्पणी गरिन्
केन्द्रीय सदस्य कोइरालाले वर्तमान सरकारलाई सत्ताच्यूत गर्न विपक्षी दलहरूद्वारा आयोजना गरिने आन्दोलन सशक्त हुनुपर्ने भन्दै सशक्त आन्दोलन नगर्ने भए यस्ता आन्दोलनले केही निकास नदिने दाबी गरेकी थिइन् ।
