समाचारआइतबार, आश्विन १४, २०६९
वैद्य र भण्डारी पनि आमन्त्रित
विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलहरूसँग छलफल गर्न १४ असोज मध्यान्ह ३ बजे शीतलनिवासमा वैद्य र भण्डारीको पार्टीलाई पनि बोलाइएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले हिमालखबरलाई जानकारी दिए । यसअघिका छलफलमा राष्ट्रपतिले दुवै पार्टीलाई अलग्गै बोलाउने गरेका थिए ।
पटक-पटक आग्रह गर्दा पनि दलहरूबीच सहमति हुन सकेको छैन । सल्लाहकार दाहाल भन्छन्, “राजनीतिक निकासका लागि निरन्तर आग्रह गर्नुको विकल्प छैन ।” छलफलबाट तुरुन्तै निकास ननिस्के पनि सहमतिका लागि उत्प्रेरणा मिल्ने उनको भनाइ छ ।
राष्ट्रपति यादवले दलहरूबाट पहिला सहमतिका लागि भइरहेको प्रयासबारे जानकारी लिने र त्यसपछि आफ्नो प्रस्ताव राख्ने राष्ट्रपतिका कानूनी सल्लाहकार सूर्य ढुङ्गेलले जानकारी दिए ।
गएको ३ असोजमा नयाँ निर्वाचनमा जान सहमत भएका प्रमुख राजनीतिक दलहरूबीच निर्वाचन प्रक्रिया, सहमतीय सरकार गठनलगायतका विषयमा विवाद कायमै छ ।
