समाचारशनिबार, भाद्र १४, २०७१

संसद् अवरुद्ध गर्दा अपजस एमाओवादीलाई: प्रधानमन्त्री

हिमालखबर

१४ भदौमा राससका सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री सुशील कोइरालाले सहमति जुटाएर संविधान निर्माणलाई तीव्र बनाउनुपर्ने बेलामा संसद् अवरोध गरेर निकास ननिस्कने बताएका छन् ।

“संसद् अवरुद्ध गर्न हुँदैन त्यसले संविधान निर्माणलाई बाधा पुर्‍याउँछ अपजस उहाँहरुमाथि ( प्रतिपक्षी दल) जान्छ, मैले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग अनुरोध गरेको छु कि यस्तो नगरौँ भनेर किनकि तपाईंहरुको र हाम्रो पनि संविधान चाँडो आओस् भन्ने नै चाहना छ”, प्रधानमन्त्री कोइरालाले भने ।

शान्ति प्रक्रियालगायत हालसम्मका काम वार्ता र सहमतिका आधारमा समाधान भएको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले वार्ताका माध्यमबाटै समस्या समाधान हुने धारणा राखे ।

“त्यसैले म आग्रह गर्छु, संसद्मा व्यवधान गर्नुहुँदैन, यसबारेमा मेरो उहाँहरुसँग कुरा भइरहेको छ”, प्रधानमन्त्रीले भने ।

कोइरालाले संविधान लेखनको महत्वपूर्ण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्न सबैलाई साथै लिएर जान र विपक्षी दलबाट भएको मागलाई भने छलफल गरेर निकास निकाल्न आफू प्रतिबद्ध रहेको उल्लेख गरे ।

चारबुँदे सहमति कार्यान्वयनका लागि विपक्षीहरुको मागका सम्बन्धमा प्रधानमन्त्री कोइरालाले भने, “निकास त दिनुपर्छ, यसैमा हामी अल्झेर बसिराख्न हुँदैन, छलफल गरेर निकास निकाल्नुपर्छ सबैलाई लिएर जानुपर्छ ।”

शान्ति प्रक्रियाका कतिपय कुरा पूरा भएका र संविधान निर्माणको प्रक्रियासमेत नियमित तबरले दु्रत गतिमा अघि बढेको बताउँदै प्रधानमन्त्रीले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी काम शुरु भइसकेको बताए ।

“एमाओवादी लगायतका दलहरुको पनि सबै पार्टीलाई समेटेर लिएर जानुपर्ने भन्ने भनाइ छ त्यसमा राजनीतिक दलहरुबीच वातावरण निर्माणका लागि छलफल भइरहेको छ”, उनले भने ।

छिटो संविधान निर्माणको काम पूरा गरेर आफूले मुक्ति लिन चाहेको बताउँदै प्रधानमन्त्री कोइरालाले संविधान घोषणा हुनेबित्तिकै प्रधानमन्त्रीले राजीनामा गर्ने हुँदा मुलुकलाई नयाँ गतिका साथ अघि बढाउन लोकतन्त्रमा विश्वास राख्ने दलहरुले संविधान निर्माणको कामलाई तीव्र तुल्याउन कुनै कसर बाँकी राख्न नहुने धारणा व्यक्त गरे ।

‘म एकदम ठीक छु र नियमित सबै काम गरिराखेको छु’

सो अवसरमा प्रधानमन्त्री कोइरालाले आफ्नो स्वास्थ्यलाई लिएर सञ्चार माध्यममा आएको टीकाटिप्पणी गलत भएको स्पष्ट पारे ।

उनले भने, “पत्रपत्रिकामा जुन कुरा आएको छ त्यो गलत कुरा हो, म एकदम ठीक छु, सबै काम गरिराखेको छु,”

पाँच पाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम र धपेडी नगर्नुस् भन्ने सल्लाह र सुझाव हुँदाहुँदै पनि मन्त्रिपरिषद्को बैठक, विभिन्न कार्यक्रम र साथीहरुसँगको भेटघाटजस्ता कार्यलाई नियमितता दिइराखेको प्रधानमन्त्रीले जानकारी दिए ।

उनले भने, “पाँच पाँचवटा रेडियो थेरापी लिएकाले धेरै काम नगर्नुस् भन्ने छ, यस्तो थेरापी लिएको मानिसले बिरलै आफ्नो काम यसरी निर्वाह गरिराखेको हुन्छ तर मलाई त एकदम ठीक छ ।”
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>