समाचारमंगलबार, भाद्र १७, २०७१
महिला कामदारलाई खाडी मुलुक जान प्रतिबन्ध
श्रम तथा रोजगार मन्त्रालयले १ असोजदेखि लागु हुने गरी सबै उमेरका महिलालाई रोजगारीका लागि खाडी मुलुक पठाउन प्रतिबन्ध लगाएको छ ।
श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले महिला कामदारमाथिको प्रतिबन्ध अस्थायी भएको बताएका छन् । उनले वैदेशिक रोजगारमा महिलालाई पठाउनेसम्बन्धमा नीति बनाएर मात्रै सबै ठाउँ खुल्ला गरिने बताए ।
हाल साउदी अरब, कुवेत, कतार र दुवइमा महिला कामदारलाई भीसा जारी नगर्न मन्त्रालयले पत्राचार गरेको छ ।
श्रममन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र पठाइ विदेशस्थित नियोगमार्फत भिसा जारी नगर्न आग्रह गरेको हो । भिसा लागेका ३० वर्ष माथिका महिला कामदार भने भदौभित्र जान पाउने मन्त्रालयले जनाएको छ ।
विभिन्न समस्या भोगेर भागेका करिब २ सय महिला कामदार हाल दुतावासको सेल्टरमा बसिरहेका छन् ।
