थप समाचारबिहीबार, भाद्र १९, २०७१
वृत्तचित्र बनाउन कतार पुगेका दुई नेपाली बेपत्ता
नर्वेली स्वयमसेवी संस्था ‘ग्लोबल नेटवर्क फर राइट्स एण्ड डेभलपमेन्ट’ (जीएनआरडी) का तर्फबाट कतारमा काम गर्ने नेपालीहरुको दुखबारे वृत्तचित्र बनाउन दोहा पुगेका मानवअधिकारवादी कृष्ण उपाध्याय र टेलिभिजन पत्रकार गुणदेव घिमिरे तीन दिनदेखि वेपत्ता रहेको जीएनआरडीले जनाएको छ ।
बेलायती राहदानी बाहक दुवैजनालाई सादा पोशाकमा रहेका कतारी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र उनीहरुलाई यातना दिइएको हुनसक्ने जीएनआरडीले आशंका व्यक्त गरेको बेलायतबाट प्रकाशित हुने पत्रिका ‘ द इन्डिपेन्डेन्ट’ ले उल्लेख गरेको छ ।
सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि रंगशाला लगायतका सुविधा निर्माणमा संलग्न नेपाली मजदुरप्रति पीडादायी व्यवहार भएको र उनीहरुको सुरक्षाप्रति बेवास्ता गरिएको भन्ने रिपोर्टहरु प्रकाशित भएपछि दुवैजना त्यसैबारे वृत्तचित्र बनाउन कतार पुगेका थिए । गत आइतबारदेखि उनीहरु बेपत्ता भएका हुन् ।
उपाध्याय र घिमिरेले सादा पोषाकमा रहेका प्रहरी जस्ता देखिने व्यक्तिले आफूहरुलाई पिछा गरिरहेको र उनीहरुले दुख दिन सक्ने भन्दै आफन्तलाई मोबाइलमा सन्देश पठाएका थिए । उनीहरुले कतार छोड्न चाहेको तर, होटेलबाट बाहिर निस्कंदा पक्राउ पर्ने सम्भावना रहेको पनि उल्लेख गरेको ‘द इन्डिपेन्डेन्ट’ ले जनाएको छ ।
कतारमा मजदुरहरुको शिविरमा गएर अन्तर्वार्ता गर्दा असुरक्षित हुने भएपछि उनीहरुले नेपाली दूतावासमा आउने गरेका मजदुरहरुसँग दूतावास परिषरमै अन्तर्वाता लिने गरेका थिए ।
नेपाली कुटनीतिज्ञसँगै रहेका बेला पनि कतारी सुरक्षाकर्मीले उपाध्यायलाई पिछा गरिरहेपछि गैर कुटनीतिक कार्य नगर्न भन्दै नेपाली दूतावासका कर्मचारीले हस्तक्षेप गर्नुपरेको थियो ।
जीएनआरडीले कतारका अधिकारीहरुसँग पटकपटक सोधखोज गर्दा पनि हराएका आफ्ना कर्मचारीबारे कुनै जवाफ प्राप्त नभएको जनाएको छ । उसले आफ्ना कर्मचारीको सुरक्षाप्रति जिम्मेवार हुन कतारका अधिकारीहरुलाई अपिल गरेको छ । उनीहरुलाई शारीरिक वा मानसिक यातना दिइएको पाइएमा त्यसविरुद्ध कानूनी कार्वाही अघि बढाइने पनि जीएमआरडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गैरआवासीय नेपाली संघ, वेलायतका पूर्व संयोजक समेत रहेका र वेलायतबाटै विद्यावारिधि गरिरहेका ५२ वर्षीय उपाध्याय भर्खरै लन्दनबाट नर्वे पुगेका थिए । त्यहाँबाट उनी ३६ वर्षे फोटोग्राफर घिमिरेसँगै दोहा गएका थिए । नेपाल पत्रकार महासंघ, यूके शाखामा आवद्ध घिमिरे लण्डनबाट सञ्चालित नेपाली टेलिभिजनका क्यामेरामेन हुन् ।
गत आइतबार रातिको फ्लाइटबाट नर्वे जाने तयारीमा दिउँसो दोहास्थित ग्रान्ड हायात होटेलबाट ‘चेकआउट’ गरेका उपाध्याय र घिमिरेले बाहिर प्रहरीको बाक्लै उपस्थिति देखेपछि होटेलकै रिसेप्सनबाट आफूहरु असुरक्षित भएको म्यासेज पठाएको उनका एक साथीले जानकारी दिएका छन् ।
कतारमा आप्रवासी मजदुरहरुप्रति गरिने ब्यवहारबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आउने समाचार र मानवअधिकारवादी संस्थाहरुको प्रतिक्रिया उसको टाउको दुखाइको विषय भएको छ । त्यसैले वृत्तचित्र बनाउन पुगेका घिमिरे र उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको हुनसक्ने ‘द इन्डिपेन्डेन्ट’ ले उल्लेख गरेको छ ।
बेलायतस्थित कतारको दूतावासले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । जनवरी २०१२ देखि मे २०१४ सम्म कतारमा ४०० नेपालीको मृत्यु भइसकेको पनि पत्रिकाले उल्लेख गरेको छ ।

