थप समाचारबिहीबार, भाद्र १९, २०७१
प्रहरीद्वारा हिरासतमा निर्घात कुटपिट
१६ भदौमा बाँकेको गनापुर–७ प्रिपहवाबाट पक्राउ परेका हरिराम बाहुन (मिश्र)लाई गनापुर प्रहरी चौकीका प्रहरीले निर्घात कुटपिट गरेका छन् ।
आफ्नै पसलमा साईकल बनाइरहेका बेला सोधपुछ गर्नुछ भन्दै गनापुर चौकीमा लगेर लाठीले कुटपिट गरेको बाहुनले बताए । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेका बाहुनले प्रहरीले कुटेको निलडाम देखाउँदै भने, “मलाई प्रहरीले फसाउन खोज्दैछ ।”
इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी जनकबहादुर शाहीले बाहुनबाट ६ सय मिलिग्राम लागूऔषध बरामद भएको बताए ।
“बाहुन लागुऔषध कारोबारी नै हो,” उनले भने, “उपचार सकिएपछि मुद्दा चलाउँछौं ।”
उनले कुटपिटबारे प्रहरीलाई स्पष्टिकरण सोधिसकेको र दोषी पाइए विभागीय कारबाही गर्ने दावी गरे ।
कुटपिटबाट घाइते बाहुनलाई अधिकारवादी संघसंस्थाको पहलमा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पुर्याइएकोे छ ।
केशव राना, कोहलपुर
