समाचारशुक्रबार, भाद्र २०, २०७१
संविधानका अन्तर्वस्तुमा सहमति नजिक पुगेको नेताहरुको दाबी
२० भदौमा संसद् सचिवालयमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकमा संविधान निर्माणका विवादित विषयहरुमा छलफल भई सहमति नजिक पुगेको बैठकपछि शीर्ष नेताहरुले बताएका छन् ।
बैठकपछि एमालेका उपाध्यक्ष विद्या भण्डारीले संविधानका विवादित चार मुख्य विषयमा दलहरुबीच गम्भीर छलफल भएको र सहमति नजिक पुगेको सञ्चारकर्मीलाई जानकारी दिइन् ।
“संविधानका मुख्य अन्तरवस्तु राज्यको पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीबारे मुख्य तीन दलका शीर्ष नेताबीचमा छलफल भयो, हामी सहमतिको नजिक नजिक पुगेका छौँ, अरु दलसित बसेर ती विषयमा कुराकानी भएपछि सहमति हुन्छ जस्तो छ”, एमालेका उपाध्यक्ष वामदेव गौतमले भने ।
बैठकमा कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षद्वय गौतम र भण्डारी, एमाओवादीका अध्यक्ष पुष्प कमल दाहाल, वरिष्ठ नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको सहभागिता थियो ।
करिब तीन घण्टा बसेको बैठकबाट बाहिरिने क्रममा मन्त्री आचार्यले भने, “हामी सहमतिको नजिक पुगेका छौँ, संविधान निर्माणको कार्यतालिकाभित्र सहमतिमा पुग्छौँ ।”
संविधानसभामा प्रतिनिधित्व गरेका ३३ दल तथा संविधानसभा बाहिरका दलहरुबीच भएका छलफलमा ती चार विषयमा सहमति बन्न सकेको छैन ।
संवाद तथा सहमति समितिको बैठक पाँच मिनेट
तीन दलको बैठक पछि तीन दलका शीर्ष नेताहरु संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा सहभागी भएका थिए ।
समितिको बैठकमा सभापति बाबुराम भट्टराईले संविधान निर्माणका क्रममा भएका पछिल्लो प्रगतिका बारेमा जानकारी गराएका थिए ।
बैठकपछि काग्रेस नेता अर्जुननरसिंह केसीले भने, “संविधान निर्माणका क्रममा संविधानसभा बाहिरका दलहरुबीचमा पनि विवादित विषयमा सहमति कायम गर्नुपरेकाले बैठक स्थगन गरिएको हो ।”
उनले संविधानका विवादित विषयमा दलहरुबीचमा सहमति हुनेसमेत दाबी गरे ।
एमालेका सचिव गोकर्ण विष्टले संविधान निर्माण कार्यतालिका संशोधन नहुने जानकारी दिँदै सकेसम्म सहमतिको प्रयास गरिने, सहमति कायम नभए प्रक्रियामा जाने बताएका थिए ।
रासस

