समाचारशनिबार, भाद्र २१, २०७१
सहमति र असहमतिका विषय संविधानसभामा पेश गर्ने सहमति
संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउन बसेको तीन प्रमुख दलको बैठकमा विवाद समाधान नभए पनि वार्ताका क्रममा सहमति भएका र असहमति रहेका विषयहरु निक्र्योल गरी संविधानसभामा पेस गर्ने सहमति भएको छ ।
यद्दपी नेताहरुले बैठकबाट बाहिर निस्कने क्रममा साँझ अबेरसम्म पनि सहमति जुटाउने प्रयत्न जारी रहने बताएका थिए ।
राज्य व्यवस्था परामर्श समितिको कार्यालय सिंहदरबारमा २१ भदौमा बसेको बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले निर्वाचन प्रक्रियाका लागि नभई हालसम्म भएका सहमति वा असहमतिका सबै विषयलाई आवश्यक सुझावका लागि संविधानसभाको पूर्ण बैठकमा पेस गर्ने सहमति भएको जानकारी दिए ।
दलहरुबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा गम्भीर मतभेद छ ।
ती विषयमा हालसम्म पनि दलहरुले एकआपसमा सहमति जुटाउन सकेका छैनन् । दैनिकजसो बैठक, द्विपक्षीय र बहुपक्षीय छलफल भए पनि गाँठो भने फुक्न सकेको छैन ।
समग्र विषयमा छलफल भएको जानकारी दिँदै नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अन्तिम समयसम्म सहमति कायम गर्ने प्रयत्न जारी रहेको बताए ।
“प्रमुख विवादित विषयमा सहमति जुटाउन घनीभूत छलफल भएको छ, यद्यपि ती विषयमा सहमति हुन सकेनन् भने पनि हालसम्म भएका सहमति संविधानसभाको पूर्ण बैठकलाई जानकारी गराएर अरु विषयमा थप छलफल गर्ने वातावरण बन्न सक्छ, हामी त्यतातिर केन्द्रित छौँ,” खनालले भने ।
एमाले नेता एवम् सभासद् अग्नि खरेलले भने हालसम्म दलहरुबीच कति बैठक बसे, कति विषयमा सहमति कायम भए, के कति विषयमा सहमति कायम हुन सकेन यी सबै सन्दर्भ समेटिएको विस्तृत प्रतिवेदन तयार पार्ने र संविधानसभामा पेस गर्ने सहमति भएको जानकारी दिए ।
कार्यतालिकाभित्र सम्पन्न भएका विषय र सम्पन्न हुन नसकेका सबै विषयलाई लिपिबद्ध गर्न सचिवालयलाई भनिएको र सचिवालयले तयार पारेको मस्यौदा सभाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई हस्तान्तरण गरेर संविधानसभाको बैठक बोलाउने र कार्यतालिका विषयमा पनि सभाबाट अख्तियारी लिने दलहरुले तयारी गरेका छन् ।

