समाचारआइतबार, भाद्र २२, २०७१
सुनकोशीको ताल फुट्यो, २० मिटर सतह घट्यो
–बिमल नेपाल, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकको राम्चे–६ जुरेमा थुनिएको सुनकोशीको कृतिम ताल २२ भदौ बिहान ३ बजेको आसपासमा अकस्मात फुटेको छ । पानीलाई निकाश दिन नेपाली सेनाले खोल्दै गरेको ठाउँबाट ताल फुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
ताल फुटेपछि पानीको सतह करिब २० मिटर घटेको छ । ताल फुट्दा सेनाले प्रयोग गरिरहेको स्काभेटर, बिष्फोटक पदार्थ र एउटा घर बगाएको छ ।
यस्तै, खाडीचौरस्थित बाल शिक्षा उच्च माविका केही क्षति पुगेको तथा एउटा भोजनालय, घरटहरा र वर्कशपमा राखिएका १० वटा मोटरसाइकल बगेको प्रहरीले जनाएको छ ।
ताल फुट्दा बिस्तारै मात्र नदी बढेकाले मानिस भने सुरक्षित ठाउँमा सरेका छन् । केही ठाउँमा पहिरो गएको छ ।
तालमा पानीको सहत घटेपछि अरनिको राजमार्ग, जुरे बजारका घर, सानिमा हाइड्रोपावरका संरचना पनि देखिएको छ ।
प्रहरीका अनुसार ताल फुट्दा बढेको पानीको वहाव अहिले भने घटिसेकेको छ ।
सम्बन्धित समाचारः
पहिरोले सुनकोसी थुनियो, लामोसाँघुदेखि दोलालघाटसम्मका बासिन्दाले घर छोडे
