थप समाचारआइतबार, भाद्र २२, २०७१
कमरेड मञ्जुको एभरेष्ट क्याफे
दीपक अधिकारी
सन् २००६ मा फोटो पत्रकार विकास रौनियारले एकजना माओवादी महिला लडाकुको तस्वीर खिचेपछि उनका साथीहरुले तस्वीरको परिचय र स्थान नखुलाउन चेतावनी दिएका थिए ।
पछि ती लडाकुको तस्वीर पत्रकार कुन्द दीक्षितको संकलनमा प्रकाशित चित्र पुस्तक ‘लडाइँमा जनता’ मा समेटियो ।
तस्वीरमा देखिएकी उनै महिला, सपना माया बजु (कमरेड मञ्जु) अहिले आठ वर्षपछि, लैनचौरस्थित एभरेष्ट क्याफेमा टेबल पुछ्दै र कप सफा गर्दै छिन् ।

पूर्व माओवादी लडाकु सपना छोरालाई 'लडाइँमा जनता' मा छापिएको आफ्नो तस्वीर देखाउँदै ( बायाँ ) र विकास रौनियारले कम्ब्याट पोषाक लगाएका बेला ८ वर्षअघि रौतहटको भैंसेमा खिचेको सपना (कमरेड मञ्जु) को तस्वीर । (दायाँ)
रौनियार उतीबेला माओवादी सम्पर्कसूत्रले ब्यवस्था मिलाएपछि अर्का फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग रौतहटको भैंसे पुगेका थिए, जहाँ उनले सपनाको फोटो खिचे । “त्यसबेला माओवादीले धेरै युवायुवतीहरुलाई जवरजस्ती लडाइँका लागि भर्ती गरेजस्तो लाग्थ्यो,” रौनियार सम्झन्छन् ।
सपनाको कथा उनीजस्तै हजारौंको ‘विचारवाद’को कथा हो । उनीहरुले युद्धमा गरेको बलिदान, शान्तिकालमा अस्तित्वका लागि गरेको संघर्ष र त्यसपछि सबै आशा धराशायी भएको कथा हो ।
१८ जनाको संयुक्त परिवारकी सपना त्यसबेला ५ कक्षामा पढ्थिन् । बाबुको गाली र थप्पड खाइरहनु उनको दैनिकी नै थियो । त्यसैबेला उनको विद्यालयमा सांस्कृतिक कार्यक्रम देखाउन हेटौंडाबाट माओवादीको एउटा टोली आइपुग्यो ।
किशोरकिशोरीलाई स्वर्णिम भविष्यको सपना देखाएर उद्वेलित पार्नु र लडाकुमा भर्ना गर्नु उनीहरुको उद्देश्य हुन्थ्यो । त्यस्तै माओवादी लडाकु माइला लामाका कुराबाट सानी सपना प्रभावित भइन् ।
सपनाका दाई रतन बजु त पहिले नै माओवादीमा भर्ना भइसकेका थिए । ११ वर्षकी सपना पनि माओवादीको साँस्कृतिक टोलीमा सहभागी भइन् । कमरेड मञ्जु बनेर सपनाले घर छोडिन् ।
त्यस लगत्तै सेनाको गस्तीले झण्डै समातिसकेका उनीहरु सेनालाई झुक्याउँदै पहाडतर्फ भाग्न सफल भए ।
सपनाले चाँडै हतियार चलाउन सिकिन् र माओवादी महिला संगठन विस्तारको काममा लागिन् । उनीे अखिल नेपाल महिला संघ ९क्रान्तिकारी० को ललितपुर जिल्ला उपाध्यक्षसम्म भइन् ।
“माओवादीको बाटो नै ठिक हो भन्ने निष्कर्षमा पुगिसकेकी थिएँ म,” उनी सम्झिन्छिन, “बन्दुक बोक्थें र आवश्यकता परे चलाउन पनि सक्थें । महिला पनि पुरुषभन्दा कम छैनन् भन्ने प्रमाणित भएको थियो ।”
एकपटक सिन्धुलीमा उनीहरुको टोली सेनाको समूहमाथि जाईलाग्योे । उनीहरुले ग्रिनेड प्रहार गरे, सेनाले जवाफी कार्वाही थाल्यो । त्यसपछि सपनासहितको माओवादी टोली रातै भरी ढिस्को मुनी लुकेर बाँचे । धन्न, कसैलाई केही भएन ।
सन् २००५ मा माओवादी युद्ध उत्कर्षमा थियो, त्यसैबेला माओवादी लडाकु कृष्ण पन्तले उनीसँग विवाहको प्रस्ताव राखे । युद्धमा घाइते भएको भए पनि कृष्णको इमान्दारी र खुल्लापन सपनाले मन पराएकी थिइन् । कृष्ण ब्राह्मण, उनी तामाङ केटी ।
ब्राह्मणले आफूलाई हेपेको सम्झिएर शुरुमा पन्तको प्रस्ताव अस्वीकार गरिन् । तर, विस्तारै उनीहरुको सम्बन्ध बढ्दै गयो । सन् २००६ मा युद्ध विराम भएलगत्तै उनीहरुले ‘क्रान्तिकारी विवाह’ गरे ।

सपना र कृष्ण सन् २००६ मा ‘क्रान्तिकारी विवाह’ गर्दै (बायाँ) । सपना, उनका पति कृष्ण र छोरा समरको पहिलो जन्मदिनका बेला चितवनमा ।
विवाहपछि सपना कृष्णको घर, गोरखाको फुजेल पुगिन, सासुको खुट्टामा ढोगिदिइन् । जिन्स र टिसर्ट छोडेर कुर्ता–सलवार लगाउन थालिन् । बन्दुक बोक्ने हातमा चुरा बज्न थाले । तै पनि सासुले उनलाई सहन सकिनन् । ब्राह्मण रितीरिवाज सिक्न खोज्दै गर्दा उनले घर छाड्नु पर्यो ।
घरबाट निकालिएपछि माओवादी लडाकु शिविर शक्तिखोर पुगेकी सपनाले सन् २००८ मा छोरा जन्माइन् । त्यसबेला माओवादी लडाकु र सेनाबीच टकराव थियो । बच्चासहितका लडाकु महिलालाई बोझ मान्दै माओवादीले शिविर छोड्न भन्योे ।
शिविर बाहिरको बसाइँ झन् कठोर भयो सपनाका लागि । स्वेच्छिक अवकाश लिंदा कृष्ण र सपनाले राज्यबाट पाएको रकमको ठूलो भाग पार्टीले मागेपछि उनीहरुलाई झनै गाह्रो भयो । त्यसैबेला अफ्गानिस्तानमा राम्रो काम र दामको लोभ देखाउने एक लडाकुलाई कृष्णले ६ लाख रुपैयाँ दिए, ठगिएको पत्तै भएन । अफगानिस्तान भनेर उडेका उनी दुबइमा फँसे, रकम पनि डुब्यो ।
त्यसपछि उनीहरुको परिवार काठमाडौं बसाइँ सर्यो । काठामाडौंको एउटा मलमा सेक्युरिटी गार्डको काम शुरु गरेका कृष्णले पाउँदा ट्रेकिङ गाइडको पनि काम गर्न थाले । जीवनमा संघर्ष चलिरह्यो ।
अहिले एभरेष्ट क्याफे सञ्चालन गर्न थालेपछि भने सपनाले काठमाडौंमा खुट्टा टेकेको अनुभव गरेकी छन् । “हाम्रो पहिलो आवश्यकता खानका लागि पुग्दो कमाउनु हो, त्यसपछि छोराको पढाइका लागि खर्च जुटाउनु,” यसै साता छोरा समरलाई स्कुलबाट ल्याउँदै गरेकी सपनाले भनिन् ।
आफ्ना आँखा खोलिदिएको भन्दै माओवादीलाई श्रेय दिने सपना माओवादीकोे ब्यवहार र उसमा आएको परिवर्तनले भने निराश छिन् ।
“हामीले नयाँ नेपालको उज्यालो सपना देखेका थियौं,” उनी भन्छिन, “हामीले आफूसँग भएको सबै पार्टीलाई दियौं, तर उसले हामीलाई त्याग्यो । उनीहरुले समानताका लागि लडेको भन्थे तर, हेर्नुस त अहिले पनि संसार त उस्तै छ ।”
अंग्रेजी संस्करणमा पढ्न यहाँ क्लिक गर्नुहोस

