समाचारसोमबार, आश्विन १५, २०६९
विपक्षी दलहरुले आज आन्दोलनको घोषणा नगर्ने
१४ असोजमा राष्ट्रपतिले दलका शिर्ष नेताहरुलाई चाँडै राष्ट्रिय सहमतिमा पुग्न दवाब दिएकाले सहमतिका लागि छलफल गर्नुपर्ने हुँदा आन्दोलन घोषणा नहुने एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।
“सत्ता गठबन्धनसँगको छलफलबाट कुनै उपलब्धि होला जस्तो त छैन,” ज्ञवालीले भने, “तर हिंजोमात्रै राष्ट्रपतिले छलफलबाट सहमतिमा पुग्न भनेकाले आजै आन्दोलनको घोषणा गर्ने मनस्थितिमा हामी छैनौं ।”
१५ असोजमा बस्ने मधेशी मोर्चासहित प्रमुख चार दलको बैठकले पनि आन्दोलनका बारेमा के गर्ने भन्ने टुंगो लाग्ने ज्ञवालीले जानकारी गराए । विपक्षी दलहरु अहिले ‘पर्ख र हेर’को स्थितिमा छन् ।
यसअघि ११ असोजमा भएको विपक्षी १९ दलको बैठकले १५ असोजमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
सत्ता गठबन्धनले पनि आमसभा नगर्ने
प्रमुख तीन दल र मधेशी मोर्चा संलग्न बैठकले मुलुकमा जारी अन्यौल अन्त्य गर्दै राष्ट्रिय सहमति कायम गर्न १६ असोज दिउँसो सर्बदलीय बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
१५ असोज दिउँसो राजधानीमा बसेको शिर्ष नेताहरुको बैठकको शुरुमै एमाओवादी नेतृत्वले सहमतिका लागि सत्तारुढ गठबन्धनले गर्ने भनेको देशब्यापी आमसभा फिर्ता लिने निर्णय गरेको जानकारी गराएको थियो ।
केहीबेरमात्रै बसेको बैठकमा १६ असोजमा बस्ने बैठकको एजेण्डासम्बन्धमा छलफल भयेको थियो ।
