समाचारसोमबार, भाद्र २३, २०७१
बाढी पहिरोबाट ८ अर्बको क्षति
प्रधानमन्त्री सुशील कोइरालाले यो वर्ष मात्र रु.७ अर्ब ७८ करोड ८५ लाख ६७ हजार २७८ बराबरको भौतिक सम्पत्ति क्षति भएको जानकारी दिएका छन् । व्यवस्थापिका संसदको सुशासन समितिलाई २३ भदौमा सरकारले गरेका खोज, उद्दार, राहत वितरण र पुनर्स्थापना सम्बन्धी जानकारी दिंदै उनले अहिलेसम्म ८ हजार ४८८ वटा घर पूर्ण र २३ हजार २४८ वटा घर आंशिक रुपमा क्षति भएको बताए ।
यो वर्ष ४२ जिल्ला बाढी, पहिरो र डुबानबाट प्रभावित भएको सरकारले जनाएको छ । कोइरालाले दिएको जानकारी अनुसार अहिलेसम्म बाढी, पहिरोबाट २६० जनाको मृत्यु भइसकेको भने १६० जना घाइते र २५४ जना हराइरहेका छन् ।
प्रभावित परिवारलाई अहिलेसम्म रु.६ करोड ७ लाख १८ हजार ५२७ नगद, रु.६ करोड १४ लाख ६० हजार बराबरको खाद्यान्न र रु.४ करोड ७५ लाख ८७ हजार ५०० बराबरको गैर खाद्य सामग्री वितरण गरिसकेको प्रधानमन्त्री कोइरालाले दावी गरे ।
