समाचारसोमबार, भाद्र २३, २०७१
राजदूतको सुनुवाइ प्रक्रिया शुरु
सार्वजनिक सुनुवाइ विशेष समितिले विभिन्न देशमा प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया शुरु गरेको हो । सिंहदरबारमा २३ भदौमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया शुरु गर्न सार्वजनिक सूचना मार्फत उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।
समितिले केही दिनभित्रै सार्वजनिक सूचना प्रकाशित गरेर प्रस्तावित राजदूतको विषयमा उजुरी माग्ने निर्णय गरेको समितिका सभापति कुलबहादुर गुरुङले जानकारी दिए ।
सरकारले १९ भदौमा विभिन्न ६ देशका लागि राजदूतमा नियुक्ति गर्न सिफारिश गरेको थियो । सिफारिश हुनेमा परराष्ट्र मन्त्रालयका सहसचिव खगनाथ अधिकारी (थाइल्यान्ड), अम्बिकादेवी लुईंटेल (फ्रान्स), कालीप्रसाद पोखरेल (क्यानडा), यज्ञबहादुर हमाल (कुवेत), दीपक धिताल (संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका निम्ति जेनेभास्थित स्थायी नेपाली नियोग) र अमृतबहादुर राई (दक्षिण अफ्रिका) छन् ।
सरकारको सिफारिश संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।
रासस
