समाचारबुधबार, भाद्र २५, २०७१
विवादित विषय संवाद समितिमै पठाइने

नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीच संविधानसभाका विवादित विषयहरु सहमतिका लागि फेरि संवाद समितिमै पठाउने अनौपचारिक सहमति भएको छ ।
यस विषयमा थप छलफल गर्न संविधानसभा बाहिर रहेको नेकपा–माओवादी सहित चार दलको बैठक २६ भदौ विहान बोलाइएको छ । २६ भदौ साँझ ५ बजे संविधानसभा बैठक बस्दैछ ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि विवादित विषय संवैधानिक समितिमै पठाउन लागिएको बताएका छन् । नेम्वाङले हिमालखबरसँग भने, “मिल्न बाँकी विषय संवैधानिक तथा संवाद समितिमै पठाउने संभावना बढी छ ।”
सहमतिका लागि पठाउँदा संविधान जारी गर्ने पूर्व निर्धारित मिति ८ माघलाई भने असर नपार्ने अध्यक्ष नेम्वाङको भनाई छ ।
उनले आन्तरिक कार्यतालिकामा समेत धेरै तलमाथि गर्न नहुनेमा जोड दिए ।
संसद सचिवालय स्रोतका अनुसार अब दिइने म्याद भित्र पनि सहमति कायम हुन सकेन भने मिल्न बाँकी विषयमा प्रश्नावली तयार पार्ने जिम्मेवारी पनि संवैधानिक समितिलाई नै दिइनेछ । समितिले बनाएको प्रश्नावलीकै आधारमा विवादित विषयलाई प्रक्रियामा लगिनेछ ।
कार्यतालिका अनुसार बाबुराम भट्टराई नेतृत्वको समितिले २१ भदौसम्म विवादित विषयमा सहमति जुटाउन नसकेपछि सहमति भएका र नभएका विषय सम्बन्धी प्रतिवेदन २२ भदौमा संविधानसभा अध्यक्ष नेम्वाङलाई बुझाएको थियो ।
दलहरूबीच राज्य पुनर्संरचना, शासकीय प्रणाली, निर्वाचन प्रणाली लगायतका विषयमा सहमति कायम हुन सकेको छैन ।
