समाचारबिहीबार, भाद्र २६, २०७१
कार्यतालिका परिवर्तन हुँदैन: उपप्रधानमन्त्री गौतम
२६ भदौदेखि मकवानपुरको पालुङमा आयोजित थाहा महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री वामदेव गौतमले दलहरूले आगामी ८ माघभित्र संविधान जारी गर्ने अठोट गरिसकेकाले त्यसमा परिवर्तन नहुने बताएका छन् ।
“संंविधान समयमा बन्छ, त्यसपछि मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख हुन्छ, म सबैलाई ढुक्क हुन आग्रह गर्छु,” गौतमले भने ।
उनले थाहा नगरपालिका र जिल्लाको उत्तरी भेगका जनतालाई सहज सेवा दिलाउन इलाकास्तरको एकीकृत सेवा स्थापना गर्ने आश्वासन पनि दिए ।
कार्यक्रममा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय सहमतिकै आधारमा संविधान जारी गर्न जोड दिएका थिए ।
“सहमति गर्न नसकिएकै कारण विगतको संविधानसभा त्यत्तिकै विघटन भयो,” उनले भने, “एकपक्षीय रूपमा संविधान जारी गर्ने प्रयास सफल हुनेछैन ।”
थाहा उपनामबाट चिनिने समाजसेवी रुपचन्द्र विष्टको स्मृतिमा महोत्सवको आयोजना गरिएको हो ।
