समाचारशुक्रबार, भाद्र २७, २०७१
एमाओवादीद्वारा संसद् बैठक लगातार अवरुद्ध
एमाओवादीसहित मधेश केन्द्रित दलहरुले उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको माग गर्दै १३ भदौदेखि ब्यवस्थापिका संसदको बैठक अवरुद्ध पार्दै आएका छन् ।
आजको बैठकमा विनियोजन विधेयक २०७१ का विभिन्न शीर्षकअन्तर्गत श्रम तथा रोजगार, महिला बालबालिका तथा समाजकल्याण, वाणिज्य तथा आपूर्ति र युवा तथा खेलकुद मन्त्रालयका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूचीमा उल्लेख थियो ।
बैठकमा समय लिँदै एमाओवादीका अग्नि सापकोटाले चारबुँदे सहमति कार्यान्वयनमा अनिच्छा देखाएको र पाँचौँ पटक सम्म सदन अवरुद्ध हँुदा पनि सभासद्ले उठाएका मागप्रति सरकारले चासो नदेखाएको आरोप लगाए ।
उनले भने, “सदनमा विपक्षीले उठाएका मागका सम्बन्धमा सभामुखले आदेश जारी गर्दा पनि सरकारका पदाधिकारीले प्रतिपक्षलाई तेजोबध गर्ने गरी अभिव्यक्ति दिएका छन्, दैवी विपत्तिमाथि अराजकता भएको छ, अर्बौं रूपियाँ राहत सङ्कलन हुँदा पनि पीडितले राहत पाएका छैनन् ।”
त्यसपछि सभासद्ले उठेर विरोध जनाएपछि सभामुख सुवासचन्द्र नेम्वाङले सो विषयमासरकारको ध्यानाकर्षण गराउँदै छलफल गरेर समस्या समाधान गर्न सरकार र प्रतिपक्ष दलसँग आग्रह गरेका थिए ।
व्यवस्थापिका–संसद्को अर्को बैठक २९ भदौ अपराह्न ३ बजे बस्ने छ ।

