समाचारशनिबार, भाद्र २८, २०७१
अध्यक्षको मनोमानी नरोकिए विशेष महाधिवेशन हुन्छ : झाँक्री
महाधिवेशन सकिएको छोटो अवधिमै पार्टी अध्यक्ष ओलीले मनोमानी ढंगले लगातार निर्णय गर्दै सामान्य विधि र प्रकृया समेत पूरा गर्न छोडेको झाँक्रीले आरोप लगाएकी छन् ।
पार्टी पदाधिकारीलाई समेत जानकारी नदिइ अध्यक्ष ओलीले मन्त्रिपरिषद पुनर्गठन गरे लगत्तै आक्रोश व्यक्त गरेकी झाँक्रीले हिमालखबरसँग भनिन्, ‘‘अध्यक्षले पार्टीलाई दुर्घटनातिर लैजाँदैछन् ।’’
अध्यक्ष ओलीले पार्टीलाई एमाओवादीजस्तो दुर्घटनामा पार्न खोजेको झाँक्रीको आरोप छ । उनले भनिन्, ‘‘एमाले सामूहिक निर्णय गर्ने बहुपदीय पद्धतिमा गएको पार्टी हो भन्ने बिर्षेर ओलीले प्रचण्डले जसरी पार्टीलाई चलाउन खोजेका छन्, यसरी चल्न दिन्नौं ।’’
मन्त्रिपरिषद पुनःगठन, मूख्य सचेतक छनौट, संसदीय समितिमा नियुक्ति, सभासद मनोनयन र सुकुम्बासी आयोगको नियुक्तिमा ओलीले प्रकृया मिचेर एक्लौटी निर्णय गरेको झाँक्रीले आरोप लगाइन् ।
एमालेले के गर्दैछ भन्ने सूचना एमालेका नेताहरुले नै मिडियाबाट थाहा पाउने अवस्था आएको उनले बताइन् ।
झाँक्रीले भनिन्, ‘‘अध्यक्ष ओलीको मनोमानी तत्काल नरोकिए हामी टुलुटुलु हेरेर बस्दैनौं, विशेष महाधिवेशनको माग गर्छाै ।’’
यसअघि, पार्टी सचिव योगेश भट्टराईले अध्यक्षले प्रकृया मिचेर एक्लौटी निर्णय गर्दै अघि बढेको भन्दै तत्काल रोक्न ध्यानाकर्षण गराएका थिए ।

