समाचारशनिबार, भाद्र २८, २०७१

मन्त्री बनेपछि महेश बस्नेतको २४ घण्टा

हिमालखबर

२७ भदौ दिउँसो महेश बस्नेत ललितपुर जिल्ला अधिवेशनमा प्रमुख अतिथि  बनेर बसिरहेका थिए ।उनका दायाँबायाँ थिए, सचिवहरू रमेशकुमार पौडेल र किरण पौडेल ।

बस्नेतको मोबाइलमा घण्टी बज्यो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जरुरी छ भनेर बोलाएपछि साँझ सात बजेतिर अधिवेशन छोडेर बस्नेत ओली निवास बालकोटतिर कुदे ।

बालकोट जाँदै गर्दा बरिष्ठ नेता झलनाथ खनालले फोन गरेर बधाई दिएपछि पो थाहा भो बस्नेत उद्योग मन्त्री भइसकेको ।

बालकोट पुग्दा ओली खादा लिएर पर्खिरहेका थिए उनले  बस्नेतलाई  मन्त्रीज्यू भन्दै  खादा लगाइदिए ।

ओलीको स्वागतपछि साथीहरुसहित बस्नेत फर्किए भक्तपुरको गुण्डुस्थित आफ्नै घर । यो बेलासम्म बस्नेत मन्त्री भएको समाचार सबैतिर फैलिसकेकाे थियाे । बाटाेभरी गाडी रोकेर बधाई दिने र माला लगाइदिनेको भीड लागिहाल्यो ।

यसबीचमा, बरिष्ठ नेता झलनाथ खनाललगायत पार्टीका शीर्ष नेताहरुले फोन गरेर बधाई दिइसकेका थिए ।

घर पुग्नेबेलासम्म चार ठाउँमा बस्नेतलाई माल्यार्पण गरियो । बधाई दिनेहरुको भीडबाट राति १० बजे बस्नेत बल्ल घर पुगे । घरमा सयौं मानिस भेला भइसकेका थिए ।

बस्नेतले पहिले आफ्नै बाआमाको हातबाट टीका ग्रहण गरे । बधाई र माला लगाइदिने, शुभकामना दिने-लिने कार्यक्रम  एक घण्टा बढी चल्यो ।

त्यसपछि बस्नेत महाधिवेशन हल भैसैंपाटी पुगे । त्यहाँ पनि स्वागतको तयारी भव्य थियो । व्यापारी, कर्मचारी, नेताकार्यकर्ता र पत्रकारहरुको बधाई रातको एक बजेसम्म चल्यो ।

एक बजेपछि बस्नेत फुपुलाई भेट्न गए । त्यहाँ पनि बधाई कार्यक्रम थियो । रातको दुई बज्यो ।

त्यसपछि युवा संघका उनी निकट केन्द्रीय सदस्यहरुसँग दुई घण्टा समीक्षा बैठक चल्यो । र विहान साढे चार बजे बस्नेत सुते ।

बस्नेत बास बसेको ठाउँ पहिल्याउदै २८ भदौ विहान ५ बजे उनका शुभेच्छुकहरुको  भीड लाग्न शुरु भयो । साढे ६ बजे ब्युँझेका बस्नेतको सम्मान कार्यक्रम विहान ८ बजेसम्म चल्यो ।

त्यहाँबाट घर फर्केका बस्नेतको चार ठाउँमा बधाई कार्यक्रम आयोजना गरियो । यी सवै कार्यक्रम सकेर बस्नेत विहान साढे ८ बजे घर पुगे । यसबीच, चार वटा फोनमा लगातार बस्नेतलाई बधाई आइरह्यो ।

बस्नेतले विहान १० बजे खाना खाए । खाना खाएर युवा संघको केन्द्रीय कार्यालय बुद्धनगर हिडेका बस्नेतलाई गठ्ठाघर, पाण्डु र सल्लाघारीमा सम्मान  गरियो ।

बुद्धनगरमा बस्नेतलाई प्रतिक्षा गर्ने अर्काे भीड थियो । यो भीड छिचोल्दा बिहानको ११ बजिसकेको थियो । त्यसपछि बस्नेत संघको पदाधिकारी बैठकमा बसे । ४५ मिनेटको बैठक सकेर उनी निस्किए ।

बाहिर नयाँ भीड तयार भइसकेको थियो । त्यहाँ बधाई लिइरहँदा दिउँसोको पौने एक बजिसकेको थियो । बिहान दश बजेका लागि बोलाइएको संघको केन्द्रीय बिस्तारित बैठक बस्नेतकै कारण ढिलो भइरहेको थियो ।

प्रमुख अतिथि बनेर बरिष्ठ नेता झलनाथ खनाल साढे १२ बानेश्वरको अल्फाबिटा आइपुगे । त्यसपछि बस्नेत बैठक हलमा प्रवेश गरे ।

उद्घाटन चरणको बैठक सकिदा साँझ पाँच बजेको थियो । चिया ब्रेकमा बस्नेत हाँकिए महाराजगंजचोकतिर ।

त्यहाँ पनि उनकाे सम्मानमा  भव्य  कार्यक्रमकाे अायाेजना  गरियो । उता, बधाई लिइरहँदा बैठकको बन्द सत्र सुरु गर्न पार्टी महासचिव इश्वर पोखरल हलमा आइसकेका थिए ।

संघका पदाधिकारीले फोन गरेर बोलाएपछि बस्नेत आए । पहिलो दिनको बैठक छोट्याएर साँझ साढे ६ बजे नै टुंग्याइयो । त्यसपछि आधा घण्टा बढी फोटो सेशन चल्यो ।

अनि,  बस्नेत घर फर्किए । फेरि घरमा भेट्न आउनेहरु दुई सय बढी थिए । बधाई लिदालिदै रातको दश बज्यो । दुई घण्टा लामो बधाई लिएपछि भीड घट्यो र बस्नेतले खाना खाए ।

युथफोर्सको अध्यक्ष भएपछि चर्चामा आएका युवा संघका अध्यक्ष बस्नेतले यसरी उद्योगमन्त्री भएपछिको २४ घण्टा बिताए ।

बधाई दिनेहरुको भीडले उत्साहित बनेका बस्नेतले आफ्नो र संघको विरोध गर्नेहरुलाई चेतावनीको भाषा पनि यही २४ घण्टाभित्रै बोले ।

पार्टीभित्र र बाहिर आफू मन्त्री भएकोमा विरोध भएको जानकारी पाएपछि संघको बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘‘टिप्पणी गर्नेहरुले पछि पछुताउनुपर्ने छ ।’’

उनलाई उद्योगमन्त्री कर्ण थापालाई फिर्ता बोलाएर मन्त्री बनाईएको छ । २०५४ को स्थानीय निकायको चुनावमा सबैभन्दा कान्छो गाविस अध्यक्ष बनेका  बस्नेत ०७० को दोस्रो संविधानसभाको चुनाव र ३ साउन ०७१ मा सम्पन्न  पार्टीको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका  थिए ।

बस्नेत युथफोर्सको अध्यक्ष हुँदै दुई कार्यकाल युवा संघको अध्यक्ष भएपछि चर्चामा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>