समाचारसोमबार, भाद्र ३०, २०७१
एमाओवादी नेता बोगटीको अन्त्येष्टी हुँदै
३० भदौ विहान नर्भिक अस्पतालमा निधन भएका बोगटीको शवलाई पार्टी केन्द्रीय कार्यालय पेरिस डाडाँ हुँदै खुल्ला मञ्चमा सार्वजनिक श्रद्धाञ्जली सभा सकेर पशुपति आर्यघाट लगिएको हो ।
बोगटीको शव दिउँसो दुई बजेसम्म खुल्ला मञ्चमा राखिएको थियो ।
— — — ——————- ——————– ———————– —————— ———- –
खुल्ला मञ्चमा श्रद्धाञ्जली कार्यक्रम, दाहसंस्कार आजै
उपचारका क्रममा निधन भएका एमाओवादी नेता पोष्टबहादुर बोगटीको शव दिउँसो दुई बजेसम्म खुल्ला मञ्चमा राखिने भएको छ ।
बोगटीको शव श्रद्धाञ्जली दिनेहरुका लागि विहान साढे एघार बजेदेखि खुल्ला मञ्चमा राखिने एमाओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
३० भदौ विहान बोगटीको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । ३० भदौमै बोगटीको दाहसंस्कार पशुपति आर्यघाटमा गरिने भएको छ ।
बोगटीको निधनप्रति एमाओवादीले तीनदिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने र ५ असोजमा देशभर श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।
नर्भिक अस्पतालबाट बोगटीको शव पार्टी केन्द्रीय कार्यालय लगिएको थियो । उनलाई श्रद्धाञ्जली दिन कांग्रेस एमालेलगायतका शीर्ष नेताहरु पेरिसडाडाँ नै पुगेका थिए ।
सरल र मिलनसार बोगटी
नुवाकोट तुप्चे गाविस–२ को भित्रिनिटारमा बोगटीको जन्म २०१० सालमा भयो । बुवा भैरवबहादुर र आमा कुमारीको कोखबाट निम्न मध्यम वर्गीय परिवार उनी जन्मिए ।
बुबा भैरवबहादुरको सरल, मिलनसार र समाजसेवाबाट प्रभावित बनि बोगटीे सानैदेखि सामाजिक कार्यमा अभ्यस्त रहे । समाजसेवा हुँदै राजनीतिमा प्रवेश गरेका बोगटी सरल र मिलनसार स्वभावका थिए ।
उनको विवाह ०३५ मा नुवाकोट आगापुटारकी राममाया बोगटीसँग भयो । बोगटीका एक छोरा र दुई छोरीमध्ये छोरा रवि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै गर्दा ०५८ मा धादिङको सत्यदेवीमा तत्कालीन सुरक्षाकर्मीको आक्रमणमा मारिए ।
उनका दुई छोरीमध्ये जेठी छोरी प्रतिभा बोगटी थारुवान राज्य समिति सदस्य छन् । कान्छी छोरी प्रभा बोगटी केन्द्रीय सूचना सञ्चार ब्यूरो अन्तर्गत प्रचार–प्रसार राज्य समिति सदस्य छन् । उनी पत्रकारितामा पनि क्रियाशील छिन् ।
श्रीमती राममाया बोगटी सङ्घीय जनसम्पर्क मध्य जिल्ला सङ्गठन समितिको सदस्य एवम् अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)का जिल्ला संयोजक तथा नुवाकोट काठमाडाँै सङ्घीय जनसम्पर्क मञ्चको अध्यक्ष छन् । बोगटीका परिवार जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय छन् ।
राजनीतिक यात्रा
समाजसेवी छविका बोगटीले ०३५ मा राजनीतिक यात्रा सुरु गरे । पारिवारिक र सामाजिक पृष्ठभूमिले उनलाई कम्युनिस्ट बन्न उत्प्रेरणा मिलेको थियो । चीनमा सर्वहारा साँस्कृतिक क्रान्तिका बेला ०२५ आसपास आफूमा कम्युनिस्टप्रतिको आस्था बढेको उनी बताउँथे ।
०३४ मा पुष्पलाल समूहमा सङ्गठित भई २०३७ मा संयुक्त चौमतिर लागेका थिए । संयुक्त चौथो महाधिवेशनसम्ममा उनी जिल्ला समिति सदस्य भइसकेका थिए ।
०४४ तिर उनले अखिल नेपाल किसान सङ्घको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गरे । त्यतिबेला बोगटीकै अग्रसरतामा बारा, पर्सा, रौतहटलगायत तराईका जिल्ला र पहाडमा समेत किसानको आन्दोलन अघि बढ्यो ।
०४० मा मसालको जिल्ला सचिव बने । ०४३ मंसीरमा क्षेत्रीय ब्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी–कर्णाली उपब्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम ब्यूरो सङ्गठनको इन्चार्ज हुँदै पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी सम्हाले ।
शान्ति प्रक्रियामा माओवादी आएपछि उनले माओवादीको पश्चिम कमाण्डको इन्चार्ज बनि जिम्मेवारी सम्हाले भने एमाओवादी बहुपदमा गएपछि पार्टी सचिव, ०६९ मा हेटाँैडामा सकिएको एकताको सातौँ राष्ट्रिय महाधिवेशनबाट महासचिव र गत वैशाखमा सम्पन्न विराटनगर राष्ट्रिय सम्मेलनपछि उनी उपाध्यक्ष थिए ।
२०६४ मा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट विजयी बनेपछि माओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक बने ।
उनले २०६८ सालमा भलनाथ खनाल नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्रालय सम्हाले । त्यसलगत्तै बनेको डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा ऊर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पनि उनले सम्हाले ।
उनले पञ्चायतकाल र बहुदलकालमा पटक–पटक जेल जीवन बिताए । विद्यालयको औपचारिक अध्ययन धेरै नभए पनि बोगटीले आध्यात्मिक, द्वन्द्वात्मक भौतिकवाद, दर्शन, राजनीति, जीवनी, साहित्य, इतिहासलगायत असङ्ख्य पुस्तकको अध्ययन गरे ।
उनी पार्टीभित्र र बाहिर इमान्दार र निष्ठावान् नेताको रुपमा चिनिनुहुन्थे । पार्टी राजनीतिमा उहाँ सधैँ अध्यक्ष पुष्पकमल दाहालको सहयोगीका रुपमा चिनिए ।
