समाचारमंगलबार, भाद्र ३१, २०७१
सिरियामा बन्धक महिलाको उद्धार भएन
गत बैशाखमा कामका लागि सिरिया पुर्याइएकी रुकुम खलंगा–८ की भूमि चनारा बन्धक अवस्थामा छन् । उनीसँगै सिरिया पुगेकी खलंगाकै रेणुका चनारा भने घरपरिवारले तीन लाख रुपैयाँ पठाइदिएपछि गत साउनमा मुक्त भएर घर फर्केेकी छन् ।
भूमिका परिवारले तीन लाख रुपैयाँ पुर्याउन नसक्दा उनलाई सिरियामा घर मालिकले बन्धक राखेको उनकी आमा पिवली बिकले जानकारी दिइन् ।
दश वर्षअघि रोजगारीको लागि भारत गएका भूमिका श्रीमान धनवहादुर अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । श्रीमान भारतमा वेपत्ता भएपछि भूमि माइतीमा वस्दै आएकी थिइन ।
गत ५ वैशाखमा घरबाट हिंडेकी भूमि १० वैशाखमा भारतको कलकत्ता विमानस्थलवाट सिरिया उडेको खबर पाएको भूमिकी आमाले बताइन् । दलालले उनिहरुलाई ब्रुनाईको कम्पनीमा काम लगाइदिने भन्दै रु २ लाख ५० हजार लिएर सिरिया पुर्याएका थिए ।
भूमी र रेणुका मोरङ्ग विराटनगरका श्यामलाल डंगोल, भक्त परियार, सुनिता मुरमुर र कल्पना सार्की मार्फत सिरिया उडेका थिए ।
पीडित परिवारलाई दलालको नाम र ठाउँ थाह भएपनि पठाउने कम्पनीको नाम भने थाहा छैन ।
आर्थिकअवस्था निकै कमजोर रहेकी भूमि ऋण गरेर विदेश गएकी हुन् । घरमा बाबु–आमा दुबै नहुँदा उनीहरुकी छोरी ११ वर्षीया कृष्णा चनारा ६६ बर्षकी हजुरआमा सँग बस्दै आएकी छन ।
लक्ष्मण केसी/रुकुम

