थप समाचारबुधबार, आश्विन १, २०७१
यौनजन्य दुर्व्यवहारबारे छलफल शुरु
संसदको महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्ग समितिले १ असोजदेखि विधेयकमाथि छलफल शुरु भएको हो । बैठकमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले विधेयकमा छुटेका कुराहरू थप गरी कार्यस्थलमा लैङ्गिकमैत्री वातावरण निर्माण गरी सुरक्षित र मर्यादितरुपमा महिलाले काम गर्न पाउनुपर्ने बताइन् ।
उनले कार्यस्थलमा हुने हिंसा दैनिक बढ्दै गएको हुनाले महिला हिंसा अन्त्यका लागि संसदमा विधेयक प्रस्तुत गरिएको उल्लेख गरिन् । विधेयकको दफा १ मा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन, २०७१’ भन्ने रहेको छ ।
दफा २ मा ‘कार्यस्थल’ भन्नाले सरकारी निकाय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको सङ्गठित संस्था, प्रचलित कानुनबमोजिम स्थापना भएको निकाय वा सङ्गठित संस्था, कुनै व्यवसाय, कारोबार वा सेवा प्रदान गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम अनुमति प्राप्त गरेको दर्ता भएको फर्म, निकाय वा सङ्गठित संस्था भन्ने रहेको छ ।
विधेयक संशोधनको दफा १ र २ का विषयमा सभासद डा. गणेशमान गुरुङ, पेम्बा लामा, सीता गिरी ओली, रत्नादेवी गुरुङ, शान्ता मानवी, प्रभावदेवी बज्राचार्य, अनुराधा थापा मगर, जयप्रकाश थारु लगायतले कार्यस्थल भने शब्द किटान गरेर नै राख्नुपर्नेमा जोड दिए ।
सभासद रामहरि सुवेदी, अग्नि सापकोटा, शारदा पौडेल, रेखा शर्मा, आशाकुमारी सिंह, भानुभक्त ढकाल, रीता रावल लगायतले हिंसा अन्त्यका लागि कडा कारबाहीको व्यवस्थाका साथै कार्यस्थल किटान गरेर जाँदा लामो हुने भएकाले एकमुष्ट रुपमा सबै स्थानमा हुने यौनजन्य दुव्र्यवहार भन्ने शब्द राख्नुपर्ने विचार राखे ।
विधेयकका बाँकी दफाहरूमा ५ असोजमा फेरि छलफल हुने समितिले जनाएको छ ।
रासस
