समाचारबिहीबार, आश्विन २, २०७१
विपक्षीद्वारा संसद अवरुद्ध, ९७ दिनसम्म पनि चल्न दिंदैनौः गच्छदार
उच्चस्तरीय राजनीतिक समिति गठनलगायत ४ बुँदे सहमति कार्यान्वयनको माग गर्दै आएका एमाओवादी र मधेश केन्द्रित दलहरुले आफ्ना माग पूरा नहुँदासम्म संसद चल्न नदिने भन्दै ८ औं दिन संसद अवरुद्ध पारेका छन् ।
बैठक शुरु भएपछि बोल्दै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले २०५६ सालमा तत्कालिन विपक्षी एमालेले ५७ दिनसम्म सदन चल्न नदिएको भन्दै थपे, “माग पूरा नभएसम्म हामीले ५७ त के ९७ दिनसम्म पनि संसद चल्न दिन्नौं ।”
उनले एक दिनअघि मात्रै एमाओवादी नेता बाबुराम भट्टराई र उपप्रधानमन्त्री वामदेव गौतमबीच उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका लागि सहमति भएको दाबी गर्दै भने, “रात रहे अग्राख पलाउँछ भने झैं रातभरमा के भएछ, समिति गठन भएन ।”
गच्छदारले बोलिसकेपछि विपक्षी दलका सांसदहरुले उठेर संसद चल्न दिएनन् । त्यसपछि सभामुख सुवासचन्द्र नेम्वाङले ३ असोज दिउँसो १ बजेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरे ।
