समाचारशुक्रबार, आश्विन ३, २०७१
अतिवाद र असहिष्णुताविरुद्ध एकजुट हुनुपर्छ: प्रधानमन्त्री
प्रधानमन्त्री सुशील कोइरालाले शान्ति, स्थायित्व र समृद्धिको साझा यात्रामा आतङ्कवाद, अतिवाद र असहिष्णुताले सहनशीलताको संस्कृति एवम् शान्तिपूर्ण अस्तित्वलाई जोखिममा पारेको बताउँदै त्यसविरुद्ध एक हुने पर्ने बताएका छन् ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को आठ वर्षपछि काठमाडौंमा आयोजित छैटौँ गृहमन्त्रीस्तरीय बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सार्कको स्थापनासँगै दक्षिण एसिया अझ प्रजातान्त्रिक बन्दै गए पनि यस क्षेत्रको मानवअधिकार र वैयक्तिक अधिकार अतिवादीहरूको निशाना बनेको धारणा व्यक्त गरे ।
सार्क राष्ट्रमा सङ्गठित अपराध, सीमापार अपराध, मानव तस्करी, लागुऔषध व्यापार एवम् महिला र किशोरीविरुद्धका हिंसा बढेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले त्यस्ता आपराधिक गतिविधि र चुनौतीको सामनाका लागि सामूहिक प्रयास हुनुपर्ने आवश्यकता औंल्याए ।
“दक्षिण एशिया विपत्तिको जोखिममा छ । बाढी, भूकम्प र पहिरोजस्ता विपत्तिबाट यस क्षेत्रका जनता नराम्ररी प्रभावित भएका छन् । एकआपसमा आश्रित विश्व त्यसबाट पनि प्रभावित छ,”– दैवी विपत्तिको सामना गर्न एकीकृत साझेदारी प्रवद्र्धन तथा सदस्य देशको क्षमता सबलीकरणमा जोड दिँदै प्रधानमन्त्रीले भने ।
मुलुकको पछिल्लो राजनीतिक विकासक्रमबारे जानकारी दिँदै उनले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी गर्न नेपालका राजनीतिक दल लागिपरेका बताए । “नयाँ संविधान जारी भएपछि त्यसले जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन जनताका प्रजातान्त्रिक अपेक्षा संस्थागत गर्न सघाउ पुग्नाका साथै प्रजातान्त्रिक संस्थाहरूलाई सुदृढ बनाउन बल मिल्नेछ,” उनले भने ।
सार्कका लक्ष्यित उद्देश्य हासिल गर्न तथा विगतका निर्णयको प्रभावकारी कार्यान्वयन गर्न अत्यावश्यक भएको प्रधानमन्त्रीको कथन थियो ।
आगामी मङ्सिर १० र ११ गते काठमाडौें १८ औं सार्क शिखर सम्मेलन हुँदैछ ।
रासस
