समाचारशुक्रबार, आश्विन ३, २०७१
राजदूतहरूको सुनुवाइ प्रक्रिया शुरु
३ साउनमा सार्वजनिक सुनुवाइ विशेष समितिले सरकारले सिफारिस गरेका क्यानडाका लागि राजदूत कालीप्रसाद पोखरेल, जेनेभाका लागि स्थायी प्रतिनिधि दीपक धिताल र फ्रान्सका लागि राजदूत अम्बिकादेवी लुइँटेलको सुनुवाइ गरेको छ ।
क्यानडाका लागि प्रस्तावित राजदूत तथा क्युबाका लागि गैरआवासीय राजदूत पोखरेलले आफू राजदूत भएमा मुलुकको व्यापार घाटा कम गर्न निर्यात बढाउने गरी बजारको खोजी गर्ने बताए ।
यसअघि आफू संयुक्त राज्य अमेरिकामा समेत कावा राजदूत भएर काम गरेको अनुभव प्रयोग गर्ने उनको भनाइ थियो ।
पोखरेलले क्यानडाबाट वार्षिक रु १६ करोडको आयात र नेपालबाट मात्रै रु ९ करोड बराबरको निर्यात हुने गरेको तथ्याङ्क पेस गर्दै मुलुक भित्रने पर्यटकको सङ्ख्या दोब्बर बनाउने प्रयास गर्ने प्रतिबद्धता जनाए ।
जेनेभाका लागि प्रस्तावित स्थायी प्रतिनिधि एवम् स्विट्जरल्यान्डका राजदूत तथा इटलीका गैरआवासीय राजदूत धितालले नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गर्न सक्दो पहल गरिने बताए ।
आफूले मुलुकमा पर्यटनको विकासका लागि पहल गर्ने, त्यसका लागि हिमाली अवधारणा अगाडि सार्ने तथा प्रचारप्रसारलाई जोड दिनेसमेत आफ्नो योजना रहेको उनले सुनाए । निरन्तर भइरहने सरकार परिवर्तनले अन्तराष्ट्रिय सम्बन्धमा फरक पार्न नहुने धारणा उनले राखेका थिए ।
फ्रान्सका लागि प्रस्तावित राजदूत तथा स्पेन, पोर्चुगल र ग्रिसका लागि गैरआवासीय राजदूत लुइँटेलले नेपाल–फ्रान्सबीचको राजनीतिक र नीतिगत सम्बन्ध सुधार्न आफू प्रतिबद्ध रहने बताए ।
फ्रान्समा भएको आर्थिक प्रगति र उन्नतिलाई नेपालको राष्ट्रिय हितमा प्रयोग गर्ने, लगानी भित्र्याउन पहल गर्ने तथा द्विपक्षीय हित र चासोलाई केन्द्रमा राखेर काम गर्ने विश्वास उहाँले दिलाए ।
फ्रान्सले कृषि र पर्यटनमा राम्रो विकास गरेकाले त्यो अनुभव साटासाट गर्न आफूले पहल गर्ने लुइँटेलको भनाइ थियो ।
समितिका सभापति कुलबहादुर गुरुङले सुनुवाइ गर्न बाँकी तीन प्रस्तावित राजदूतको यही असोज ५ गते सुनुवाइ गरिने जानकारी दिएका छन् ।
