समाचारआइतबार, आश्विन ५, २०७१
सीके राउतलाई ७ गतेसम्म हिरासतमा राख्न सर्वोच्चको अनुमति
आदेशअनुसार ५ असोजमा सर्वोच्च अदालतमा उपस्थित गराइएका सीके राउतलाई प्रहरीले राज्यविरुद्धको अपराध अन्तर्गत मुद्दा अगाडि बढाउन अनुसन्धान गरिरहेको छ ।
न्यायाधीश गिरिशचन्द्र लाल र सुशीला कार्कीको इजलासले राउतलाई ८ असोजमा अदालतमा उपस्थित गराउने गरी ७ असोजसम्म हिरासतमा राख्न अनुमति दिएको सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए । सर्वोच्चले उनलाई पक्रनुको कारण समेत माग गरेको छ ।
मधेशलाई नेपालबाट अलग गराउने अभियानमा सक्रिय राउतलाई प्रहरीले मोरङको रंगेलीबाट २७ भदौमा पक्राउ गरेको थियो ।
बन्दी प्रत्यक्षिकरणमा परेको रिटमा सर्वोच्चले सशरीर राउतलाई उपस्थित गराउन आदेश दिएपछि प्रहरीले यसअघि ३ असोजमा सर्वोच्चमा उपस्थित गराए पनि नभ्याइने भन्दै सर्वोच्चले उनको पेशी ५ असोजका लागि तोकेको थियो । त्यसअघि प्रहरीले विशेष अदालतबाट म्याथ थप गराएको थियो ।
उनले राज्य द्रोह गरेका यथेष्ट प्रमाण भेटिएको गृहमन्त्रालय स्रोतले जानकारी दिएको छ ।
नेपालको कानून अनुसार राष्ट्र विखण्डनको गतिविधि गरेको पुष्टि भए जन्मकैदसम्मको सजाय हुने व्यवस्था छ।
