समाचारमंगलबार, आश्विन ७, २०७१
बाम नेतृ साहना प्रधानको निधन

एमाले केन्द्रीय कार्यालय बल्खुमा नेतृ साहना प्रधानको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिदै । तस्वीर: देवकी बिष्ठ
बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत एमाले नेतृ साहना प्रधानको ८७ वर्षको उमेरमा ६ असोज राति निधन भएको छ । फोक्सोमा सङ्क्रमण तथा मस्तिष्कघातका कारण अस्वस्थ भएपछि उहाँलाई गत जेठ २३ गतेदेखि बल्खुस्थित बयोधा अस्पतालकोे सघन उपचारकक्षमा राखिएको थियो ।
नेतृ प्रधानको शव विहान ८ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि एमाले मुख्यालय बल्खुमा राखिने एमाले नेता सूर्य थापाले जानकारी दिए ।
नेतृ प्रधानको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिने भएको छ ।
३ असार १९८४ मा काठमाडौं असनको त्यौडमा जन्मिएकी सहाना प्रधान १७ वैशाख २००४ मा पहिलोपटक संगठित रूपमा राणाशाही विरोधी नारा लगाउने चार कर्मठ महिलामध्येकी एक थिइन् ।
२००७ सालतिर शिक्षिका समेत भएकी प्रधान २००९ सालमा नेपालबाट स्नातक तहको परीक्षा दिने ७२ जना परीक्षार्थीमध्ये एकमात्र महिला थिइन् ।
चैत २०४३मा सहाना र मनमोहन अधिकारी समूहले संयुक्त सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी मार्क्सवादी गठन गर्दा उनी पार्टीको सचिव भइन् ।
२२ चैत २०४७ सालमा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी–लेनिनवादी र नेकपा मार्क्सवादी एक भई नेकपा एमाले बन्यो ।
२०४६ को जनआन्दोलनमा वाममोर्चाको नेतृत्व सम्हालेकी साहना अन्तरिम सरकारमा उद्योग तथा वाणिज्य मन्त्री, २०४८ र २०५१ मा क्रमशः काठमाडौँ क्षेत्र नं। ४ र ६बाट प्रतिनिधिसभा सदस्य भइन् ।
त्यसअघिको संयुक्त सरकारमा प्रधान महिला तथा समाजकल्याणमन्त्री रहेकी थिइन् ।
उनको आत्मकथा ‘स्मृतिका आँखीझ्यालबाट’ प्रकाशित छ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठकी पत्नी साहनाका एक छोरा र एक छोरी छन् ।
