समाचारमंगलबार, आश्विन ७, २०७१
अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ
बन्दको अवज्ञा गरेको भन्दै सवारी साधन तोडफोडमा उत्रिएका अखिल क्रान्तिकारीका कञ्चनपुर जिल्ला अध्यक्ष रामबहादुर महरालाई ७ असोजमा जिल्लाको भाँसीबाट प्रहरीले पक्राउ गरेको छ ।
बन्दकर्ताले भीमदत्तनगरपालिका भाँसीस्थित राजमार्गमा म १ ह २४ नम्बरको टेम्पोमा तोडफोड गरेका छन् । टेम्पो तोडफोडपछि भाँसीबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सरकारले भारतीय कम्पनी जीएमआरसँग गरेको जल विद्युत् विकाससम्बन्धी सम्झौता खारेजीको माग राख्दै नेकपा–माओवादीले सुदूरपश्चिम तथा मध्यपश्चिममा बन्द आह्वान गरेको हो ।
बन्दका कारण बिहानैदेखि छोटो र लामो दूरीका सार्वजनिक सवारीका साधनहरु सञ्चालन हुन सकेका छैनन् भने शिक्षण संस्था, बजार र उद्योगधन्दा पनि बन्द छन् ।
