समाचारबुधबार, आश्विन ८, २०७१
मन्त्री बस्नेत भन्छन, ‘सरकारको लाचारीले नन्दप्रसादको निधन’
उद्योगमन्त्री महेश बस्नेतले न्यायको माग गर्दै अनशन बसेको ३३२ औं दिनमा ६ असोजमा मृत्यु भएका गोरखाका नन्दप्रसाद अधिकारीलाई न्याय दिन सरकारले कुनै पहल नगर्दा उनको मृत्यु भएको बताएका छन् ।
“आफ्ना छोराको हत्यारालाई कारबाहीको माग गर्दै अनसन बसेका अधिकारी दम्पतीको माग पुरा गराउन सरकारले कुनै पहल गरेन,” ८ असोजमा धादिङ पुगेका मन्त्री बस्नेतले भने ।
धादिङको तसर्पु–९ स्थित आदर्श माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै बस्नेतले नन्दप्रसादको मृत्यु मुलुकका लागि लज्जाको विषय भएको बताए ।
सरकारकै मन्त्री बस्नेतले नन्दप्रसादकी पत्नी गंगामायाको स्वास्थ्यअवस्था पनि चिन्ताजनक भएकोले समयमै सम्बन्धित निकायले ध्यान दिन आग्रह गरे ।
नन्दप्रसादले ‘न्याय माग्दा मृत्युवरण गर्न बाध्य हुनुपरेको’ घटनाले अन्तर्राष्ट्रिय स्तरमै नेपालको शिर निहुरिएको बस्नेतको भनाई थियो ।
सानुबाबु तिमिल्सिना, धादिङ
