समाचारशुक्रबार, आश्विन १९, २०६९
कोइराला–दाहाल भेट, असोजभित्रै सहमतिको सरकार बनाउने
कोइरालानिवास महाराजगन्जमा १९ असोज बिहान भएको छलफलमा असोज मसान्तभित्रै विवादित विषय मिलाएर राष्ट्रिय सरकार बनाउने सहमति भएको हो । नयाँ संविधान, निर्वाचन प्रक्रिया र सरकारलगायत विषयमा सहमति गरेर जाने बारेमा दुई नेताबीच छलफल भएको एमाओवादी अध्यक्ष दाहालले जानकारी गराए ।
“सभापति सुशील कोइरालाजीसँगको बैठक सकारात्मक भएको छ,” भेटपछि सञ्चारकर्मीसँग दाहालले भने, ‘‘असोज मसान्तभित्रै राजनीतिक निकास निकालेर सहमतिको सरकार बनाउँछौँ ।’’ उनले शीर्ष नेताबीचको संवाद फेरि शुरु भएको भन्दै अब मुलुकले छिट्टै समाधान पाउने दाबी गरे ।
भेटमा कांग्रेस सभापति कोइरालाले सहमतिका आधारमा अगाडी बढ्न आफ्नो पार्टी प्रतिबद्ध भएको बताएका थिए । उनल देशको अवस्थाप्रति गम्भीर हुन एकीकृत माओवादीलाई आग्रह पनि गरे । देशको अवस्थाप्रति आफ्नो पार्टी चिन्तित भएकाले सहमतिका लागि सबैभन्दा बढी जोड दिंदै आएको सभापति कोइरालाले दाबी गरे ।
छलफलमा सहभागी काँग्रेस उपसभापति रामचन्द्र पौडेलले एमाओवादी अध्यक्षसँगको वार्ता सकारात्मक रहेको बताए । ‘‘मुलुकलाई निकास दिन गम्भीर कुराकानी भएको छ,’ उनले भने, ‘‘हेरौँ अब केही न केही निकास आउनेमा आशावादी बनेका छौँ ।’’ पौडेलले सहमति निर्माणका लागि विभिन्न विषयमा कुराकानी भएको तर कुनै विषयमा निष्कर्षमा भने नपुगेको वताए ।
विपक्षी दलहरुले राष्ट्रिय सहमति निर्माणका लागि प्रधानमन्त्री डा बाबुराम भट्टराईको सहज बहिर्गमनको माग
गर्दै आए पनि सत्ता गठबन्धनले त्यसको बेवास्ता गर्दै आएको छ ।
