समाचारबुधबार, आश्विन १५, २०७१
लमजुङमा एकै परिवारका चारको हत्या
भोटेओडारको पिप्लेस्थित रेग्मी गाउँका ६० वर्षीय अर्जुनप्रसाद रेग्मी, उनकी धर्म छोरी ३५ वर्षीया रीना घिमिरे, १४ वर्षीया छोरी ज्योति रेग्मी र १२ वर्षीय धर्म नाति विकास घिमिरेको १४ असोज राति हत्या भएको हो । चारै जनाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
रेग्मी र नाति घिमिरे एउटा र दुई छोरी अर्को खाटमा सुतिरहेको अवस्थामा उनीहरूको हत्या गरिएको प्रहरीले जनाएको छ । भारतमा नोकरी गर्ने रेग्मी दुई दिनअघि १३ असोजमा मात्र दसैँ मान्न घर आएका स्थानीयले बताएका छन् ।
१५ असोज बिहानै दसैँको खसी काट्ने तयारीका बारे बुझ्न जाँदा घरमा कोही नबोलेकाले घरको ढोका खोलेर हेर्दा रेग्मीको हत्या भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीले घटनास्थलमा पुगी आवश्यक अनुसन्धान सुरु गरेको छ ।
अनुसन्धानका लागि पोखराबाट प्रहरीको विशेष टोली लमजुङ आएको छ । लमजुङका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले घटनाको अनुसन्धान भइरहेकाले त्यसबारे अहिल्यै केही भन्न नसकिने बताए ।रासस
