समाचारशुक्रबार, आश्विन १९, २०६९
एमालेले आन्दोलनको नेतृत्व लियोः खनाल
सरकारको बहिर्गमन र राष्ट्रिय सहमतिका लागि दवाबस्वरुप १९ असोजमा एमालेले मुलुकभर गरेको प्रदर्शनका क्रममा राजधानीमा आयोजित सभामा अध्यक्ष खनालले एकीकृत माओवादी नेतृत्वको सरकार नढल्दासम्म सडक आन्दोलन जारी राख्ने बताए ।
राजधानीको शान्तिबाटिकामा गरेको जप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष खनालले एकीकृत माओवादीको सर्वसत्तावादको कारण मुलुक अन्धकारतर्फ धकेलिएको टिप्पणी गरे । उनले एक वर्षदेखि माओवादीको सर्वसत्तावाद हावी भएको भन्दै उसको सत्ताकब्जाको योजना विफल पार्ने चेतावनी दिए । आफ्नो पार्टीको जनमत कायमै रहेको १९ असोजको प्रदर्शनले पुष्टि गरेको भन्दै गर्दै खनालले सहमति गरेर उत्पन्न आर्थिक, राजनीतिक, संवैधानिक सङ्कट समाधानको बाटोमा लाग्न एमाओवादीलाई आग्रह गरे ।
उपाध्यक्ष अशोक राइलगायतले एक दिनअघि पार्टी छोड्नुलाई उनले हात्तिको जिउमा लागेको धुलो झरेकोसँग तुलना गरे । १० वर्षे माओवादी हिंसाले मुलुक आर्थिक टाट पल्टिएको बताउँदै खनालले अब माओवादीको ब्रम्हलुटलाई टुलुटुलु नहेर्ने चेतावनी पनि दिए ।
एमाले सचिव शङ्कर पोखरेलले एकीकृत माओवादीले देशलाई सर्वसत्तावादको बाटोमा लैजाने कोशिस गरेको अवस्थामा लोकतान्त्रिक शक्तिलाई एक जुट गर्न पनि जनप्रदर्शनले सघाउने बताए । सरकार विदेशीहरुको खेलौना बनेको आरोप लगाउँदै सचिव पोखरेलले महङ्गी, भ्रष्टाचारले डाँडो काट्दा पनि सरकार चुप लागेर बसेपछि एमालेले सडकबाट झक्झक्याउन थालेको स्पष्ट पारे । जेठ १४ देखि दलहरुबीच भएको वार्तामा सहमतिको कुरा गरे पनि एकीकृत माओवादीको कारण सार्थक वार्ता हुन नसकेको पोखरेलको भनाइ थियो ।
‘असंवैधानिक सरकार सत्ता छोड, राष्ट्रिय सहमतिको ढोका खोल’ भन्ने नारा साथ एमालेले १९ असोजमा देशभर जनप्रदर्शन गरेको हो । राजधानीमा आयोजित प्रदर्शनमा शीर्ष नेताहरुले सम्बोधन गरे भने जिल्लामा केन्द्रीय र जिल्लास्तका नेताहरुले सम्बोधन गरेका छन् ।
