समाचारआइतबार, आश्विन १९, २०७१
शीर्ष नेता भन्छन्, ‘संविधान बन्छ’, युवा नेता पत्याउँदैनन्
आन्तरिक, दुई पक्षीय र बहुपक्षीय छलफललाई दलहरुले दशैंलगत्तै तीव्र बनाएका छन् । १९ असोजमा कांग्रेस, एमाले, एमाओवादीलगायत दलहरुले विवादित विषयमा छलफल गरे ।
एमाओवादीले सहमतिबाट संविधानका विवादित विषय टुंग्याउनुपर्ने निर्णय आफ्नो मोर्चामा गराए भने कांग्रेसले नौ प्रदेश हुनेगरी संघीयतामा जानेबारे छलफल गरे ।
अमेरिका भ्रमणका विभिन्न सम्बोधनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला, लण्डनमा रहेका बरिष्ठ नेता शेरबहादुर देउवा र कांग्रेसका अन्य शीर्ष नेताहरुले ८ माघमै संविधान घोषणा हुनेमा आशंका नगर्न आग्रह गरिरहेका छन् । तर, उक्त पार्टीका युवा नेताहरु भने आफ्नै नेताहरुमा विश्वस्त छैनन् ।
१९ असोजमा आयोजित एक कार्यक्रममा युवा नेता गगन थापाले निर्धारित समयमा संविधान बन्न कठीन रहेको बताए । उनले अहिलेकै गति र अडानले संविधान बन्न नसक्ने जनाए ।
दोस्रो दल एमालेका शीर्ष नेताहरु पनि प्रकृयामा गएर भएपनि संविधान बन्ने बताउँदै आएका छन् ।
तर, एमालेका युवा नेताहरु संविधान बन्ने विश्वस्त छैनन् । ताप्लेजुङ पुगेर सचिव योगेश भट्टराईले निर्धारित समयमा संविधान बन्न कठीन रहेको जनाए । उनले जनतालाई नढाट्न शीर्ष नेताहरुलाई आग्रह गर्दै भने, ‘‘यही गतिमा संविधान बन्न सक्दैन ।’’
एमाओवादीका भने शीर्ष नेताहरू नै संविधान निर्माण हुनेमा ढुक्क छैनन् । संविधान तथा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले केही दिन अघि नै आसा मरिसकेको अभिव्यक्ति दिएका थिए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले ८ माघमा संविधान नबने आकाश नखस्ने भन्दै संविधानसभाभित्र र बाहिर रहेका साना दलहरुसँग मोर्चाबन्दी गर्दैछन् ।
कांग्रेसका युवा नेता गगन थापा एमाओवादी नेताहरुको गैरजिम्मेवार अभिव्यक्तिले संविधान बन्नेमा आशंका रहेको बताउँछन् ।
