साहित्य विशेषमंगलबार, आश्विन २१, २०७१
गजलहरु
-ज्ञानुवाकर पौडेल
सिउँदो तिम्रो जब ओभानो लाग्यो
घर आफ्नो पनि बिरानो लाग्यो
नजुराए पनि मेल दैवले हाम्रो
सम्बन्ध भने सारै न्यानो लाग्यो
सुनें आज जब विरह गीत तिम्रो
उठूँ र बजाउँ त्यो पियानो लाग्यो
बल्झेर दुख्ता घाउ आज बिछोडको
खोलेर व्यर्थै हेरेछु एल्बम पुरानो लाग्यो
तिमी के गयौ हल्लाउँदै बिदाइको हात
छुट्ने पो हो कि मेरो भक्कानो लाग्यो।
-शीतल कादम्बिनी
यन्त्र झै लाग्छन् शहरका मान्छेहरू
कहाँ छ समवेदना पत्थरका मान्छेहरू
उनीहरू आफूलाई निकै माथि छु भन्छन्
तर कति तल देखिन्छन् अम्बरका मान्छेहरू
म त्यो उत्साह र उज्यालो उमार्न चाहन्छु
जवानी मलाई देऊ ए भर्खरका मान्छेहरू
जहाँ जहाँ म जान्छु तुफान लिएर जान्छु
होशियार भई बस ए डगरका मान्छेहरू
मनहरूको ‘शीतल’ छायामा छौ तिमी त
हेर न सडकमा कति छन् बेघरका मान्छेहरू
-शारदा घिमिरे भैल
मरुभूमिमा झरनाको तलास थियो
वर्षौंदेखि नमेटिएको प्यास थियो।
पत्थरै पत्थरको वस्तीमा पनि
एकमात्र ऊ मुटु छुने खास थियो।
बाहिर म खुशीले धेरै छचल्किएँ
मन भित्रभित्रै कति उदास थियो।
जसरी बल्न सक्दैन सलेदो विना बत्ती
किन किन मलाई तिम्रै आश थियो।
कसैले बुझेर नि बुझ्न चाहेनन् मेरो व्यथा
जूनतारा झार्ने कुरा त्यो उसको बकवास थियो।
