समाचारबिहीबार, आश्विन २३, २०७१
एमाओवादी सभासदलाई आन्दोलनमा सहभागी हुन निर्देशन
२३ असोजमा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको संसदीय दलको बैठकले मोर्चाले घोषणा गरेको आन्दोलनमा सहभागी हुन निर्देशन दिएको हो । २२ दलीय मोर्चाले २४ असोजदेखि देशका विभिन्न ठाउँमा विरोध जुलुस तथा सभाको घोषणा गरेको छ ।
बैठकले सत्तारुढ दलहरुलाई सहमतिमा संविधान जारी गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
एमाओवादी संसदीय दलको उपनेता रायमाझी
एकीकृत नेकपा माओवादी संसदीय दलको उपनेतामा सचिव टोपबहादुर रायमाझीलाई चयन गरिएको छ ।
बैठकले दलको सचेतकमा नेत्री रेखा शर्मालाई चयन गरेको छ । दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाललाई चयन गरेको लामो समयपछि उपनेता र सचेतक छानिएको हो ।
अध्यक्ष दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीच विवाद हुँदा लामो समयदेखि चयन हुन नसकेको दलको उपनेता र सचेतक ठूलो कसरतपछि चयन गरिएको हो । उपनेतामा चयन भएका नेता भट्टराई र सचेतक दाहाल पक्षका हुन् ।
बैठकले संसदीय बोर्डको सचिवमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई चयन गरेको छ ।
