थप समाचारआइतबार, आश्विन २६, २०७१
अस्पतालको एक्सरे पियनको भरमा
जिल्ला अस्पतालमा श्रेणीविहीन पाँचौ तहको कार्यालय सहयोगी रहेका अमरबहादुर खड्काले एक्सरे गर्ने तथा चिकित्सकलाई त्यसको रिपोर्ट पनि दिने गर्छन् ।
जिल्ला अस्पतालमा एक्सरे गर्ने प्राविधिक कर्मचारी नभएकाले खड्काले एक्सरे चलाउनु परेको हो ।
जिल्लाको एकमात्र यो सरकारी अस्पतालमा १२ वर्षदेखि रेडियोग्राफरको दरबन्दी खाली छ । खड्काले दैनिक ५ देखि १५ भन्दा बढी बिरामीको एक्सरे गर्छन् ।
अहिलेसम्म रिपोर्ट बिग्रिएको र गलत भएको गुनासो नआएको उनको भनाइ छ । खड्काले एक्सरे चलाउनुअघि पनि त्यहाँ प्राविधिक कर्मचारी थिएनन्, त्यसबेलासम्म एक्सरे मेशीन थन्किएको थियो ।
२०४५ सालदेखि अस्पतालमा अस्थायी रूपमा कार्यरत उनले जिल्लामा भएका स्वास्थ्य शिविरमा दुई पटक एक्सरे चलाउने तालिम लिएको बताए ।अस्पतालमा विद्युत् लाइन बिग्रिंदा र खानेपानी लाइनमा समस्या आउँदा पनि उनैले बनाउँछन् ।
तर, ती काम गरेबापत् उनले थप सुविधा पाएका छैनन् ।
एक्सरे गर्ने प्राविधिक पठाउन पटकपटक पत्राचार गरिए पनि मन्त्रालय र विभागले नपठाएको अस्पताल स्रोत बताउँछ ।
केही कर्मचारी आए पनि हाजिर नै नगरी अन्तै काजमा जाने वा सरुवा हुने गरेका छन् । दक्ष जनशक्ति नभएका कारण जिल्ला अस्पतालमा गतवर्ष ल्याइएको भीडीयो एक्सरे प्रयोगमा आउन सकेको छैन ।
लक्ष्मण केसी, रुकुम
साप्ताहिक खबरपत्रिका हिमालबाट

