समाचारशुक्रबार, आश्विन ३१, २०७१
विवादित विषयमा तीन दलको कुरो मिलेन
नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति जुटाउन नसकेको हो ।
ती विषयमा सहमति जुटाउन भन्दै तीन दलका शीर्ष नेताको बैठक निरन्तर बस्दै आएको छ । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने “बैठकले नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन सहमति कायम छ भनेर प्रतिवेदन बुझाउने निर्णय ग¥यो ।”
नयाँ संविधानका विषयमा सहमति जुटाई प्रतिवेदन तयार गर्न दोस्रो पटक संवैधानिक राजनीतिक संवाद तथा सहमतिलाई दिइएको पाँचदिनको समय ३० असोजमा सकिएको छ । विवादित विषयमा सहमति जुट्न नसकेमा संविधानसभाको पूर्ण बैठकको प्रक्रियामा जाने कि समितिको समयसीमा अरु थप गर्ने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन ।
नेता श्रेष्ठले भने, “हामी मिल्न नसकेका मुख्य चार विषयलाई सहमतिबाटै समाधान खोज्ने प्रयत्नमा छाँै, निरन्तर संवादबाट सहमति खोजिरहेका छौँ ।” तीन दलको बैठकमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला र न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्य, एमालेका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी तथा एकीकृत नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आमन्त्रण गरिएको थियो ।
