समाचारआइतबार, आश्विन २१, २०६९
सदभाव र एकतामा राष्ट्रपतिको जोड
ज्यापु प्रज्ञा भवनको २० असोजमा उद्घाटन गर्दै राष्ट्रपति यादवले देश परिवर्तन र मूल कानुन निर्माण गर्ने चरणमा रहेकाले राष्ट्रका जाति, भाषा र विविधतालाई एकताबद्ध गर्नसके राष्ट्रिय एकता बलियो हुने भन्दै मुलुकमा आएका परिवर्तनलाई संस्थागत गर्न नसकिएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो ।
राष्ट्रपति यादवले यतिखेर प्राकृतिक र भौगोलिक विविधताले भरिएको सुन्दर मुलुक नेपालमा राजनीतिक स्थायित्व नहुँदा यहाँको प्रशस्त जलभण्डार, कृषि, जैविक वनस्पतिको उचित उपयोग हुन नसकेको वताए ।
उनले भाषा, कला र संस्कृति राष्ट्रको सम्पदा भएकाले यसको प्रबद्र्धन र विकासमा जोड दिनुपर्ने भन्दै परम्परागत संस्कृति र सभ्यताको संरक्षण विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
राष्ट्रपति डा यादवले नेवारी समुदायको परम्परागत कला र संस्कृति झल्कने ज्यापु प्रज्ञा भवन र त्यहाँको सङ्ग्रहालयले नेवारी मात्र नभई सम्पूर्ण जाति र समुदायको संस्कृति प्रबद्र्धन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका ।
संस्कृतविद् सत्यमोहन जोशीले ज्यापु प्रज्ञा भवन नेवारी समुदायको मात्र नभई सम्पूर्ण नेपालीको गौरवको विषय भएको भन्दै भवनमा रहेको सङ्ग्रहालयमा राखिएको बाग्मतीको सभ्यता झल्कने विविध सामग्रीले नयाँ पुस्ताका लागि इतिहास सावित हुने दावी गरे ।
जिल्लाका विभिन्न राजनीतिक दल, प्रतिष्ठित व्यक्तित्व, समाजसेवीलगायतको उपस्थिति रहेको कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो ।
ज्यापु प्रज्ञाभवनमा ललितपुर जिल्लाकै सुविधासम्पन्न अडिटोरियम हल, पुस्तकालय र तालिम केन्द्र रहेका छन् ।
