समाचारशनिबार, कार्तिक १, २०७१

सिकिस्त भइन् गंगामाया

हिमालखबर

तीन दिनयता गंगामायालाई दुई पाउन्ड रगत दिइए पनि स्वास्थ्यमा कुनै सुधार नआएको जानकारी वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितले दिएको विवरणसहित अन्नपूर्ण पोष्टले समाचार प्रकाशन गरेको छ। टीपीएन (पोषणयुक्त औषधि)का साथमा पछिल्लो समय उनलाई दिन थालिएको ग्लुकोजपानीले समेत काम नगरेको पण्डितले बताए।

गंगामायाको मिर्गौलाले काम गर्न छाडेको छ भने शरीरमा रक्तकोष अत्यन्तै कम भएको छ। क्याल्सियम र भिटामिन कमी हुँदा उनको स्वास्थ्य नाजुक भएको हो। सँगै अनशन सुरु गरेको तीन सय ३२ औं दिनमा पतिको निधन भएपछि एक्लिएकी गंगामाया मानसिक रूपमा समेत अत्यन्तै कमजोर भएकी छन्।

उनलाई परामर्श दिन मनोचिकित्सक खटिए पनि मनोचिकित्सकको प्रयास असफल भइरहेको छ। अस्पताल स्रोतका अनुसार नन्दप्रसादको भन्दा स्वास्थ्य राम्रो भनिएकी गंगामाया पति गुमाउँदा र आफ्नो माग सुनुवाइ नभएको पीडा एकैसाथ खेप्नु परेपछि मानसिक रूपमा विक्षिप्त भएकी हुन्।

“अब हाम्रो मात्र एक्लो प्रयासले केही हुने देखिँदैन। यस्तै अवस्था कायम भयो भने गंगामायाको अवस्था पनि नन्दप्रसादको जस्तो नहोला भन्‍न सकिन्‍न” उपचारमा संलग्न एक चिकित्सकले भने, “अन्तिम अवस्थासम्म पनि नन्दप्रसादले मन बलियो बनाएका थिए। त्यस्तो अवस्था गंगामायाको छैन।”

गंगामाया कहिले डाँको छोड्छिन्, कहिले मौन पतिको निधनपछि गंगामायालाई अहिलेसम्म छोरा वा आफन्त कोही पनि भेट्न नगएकाले उनी मानसिक रूपमा विक्षिप्त भएकी हुन्।

चिकित्सकले गंगामायालाई पहिला राखिएको कोठाबाट अयन्त्र सारी नयाँ वातावरणमा उपचार थाले पनि टोलाउन नछाडेको पण्डितले बताए। पण्डितका अनुसार गंगामायाको रेखदेख र परार्शका लागि चिकित्सक, नर्स र मानवअधिकारकर्मीको एउटा टोली बिहान १० देखि ५ बजेसम्म खटिने गरेको छ।

अनशन तोड्नका लागि आग्रह गर्दै अस्पतालमा दिनहुँजसो मानवअधिकारकर्मी र कानुन व्यवसायीको भीड लाग्ने गरेको भए पनि गंगामायाले मानेकी छैनन्।

छोराको हत्यारालाई कानुनी कारबाही माग गर्दै अनशनमा बसेका नन्दप्रसादको गत असोज ६ गते निधन भएको थियो। न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसादले जीवन गुमाएपछि व्यापक आलोचना भएको थियो। तर पनि नन्दप्रसादका छोरा कृष्णप्रसादका हत्यारालाई कानुनी दायरामा ल्याउन सरकार गम्भीर भएको पाइएको छैन।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>