समाचारआइतबार, कार्तिक २, २०७१
भाइटीकाको साइत ११ बजेर ३५ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक समितिले साइत नै खोजेर टीका लगाउन चाहनेका लागि बिहान ११ बजेर ३५ मिनेटमा उत्तम साइत रहेको जनाएको छ । सर्वसाधारणका लागि तिहारको भाइटीकामा साइत नचाहिने भए पनि साइत नै खोजेर टीका लगाउनलाई उक्त समय उत्तम रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यस वर्ष ४ कात्तिक मङ्गलबारदेखि शुरु हुँदैछ । ४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवद्र्धनपूजा र नेवार समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३५ एवम् म्हपूजा परेको छ ।
यस्तै, ८ कात्तिकमा भाइटीका परेको छ । भाइटीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण दिनका रूपमा मनाउने गरिन्छ ।
रासस
