समाचारबुधबार, कार्तिक ५, २०७१

सार्कको तयारी तिव्र, पूरानो वसपार्क खाली गराइने

हिमालखबर

सार्कलाई लक्षित उपत्यकाभित्रका विभिन्न मुख्य सडक तथा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग एवम् ग्यालेरी बैठक, सिंहदरबारको मर्मत–सुधारको काम भइरहेको छ ।

सार्कका बेला बढी प्रयोग हुने सडकमा सार्क राष्ट्रका प्रमुखहरू बस्ने सोल्टी होटल पुग्ने त्रिपुरेश्वरदेखि होटलसम्मको सडक र मन्त्रीहरू बस्ने बौद्धस्थित हायात होटलसम्मको सडक चिल्लो बनाउने काम भइरहेको छ ।

यस्तै सार्कका सम्मेलन हुने स्थान राष्ट्रिय सभागृहको भौतिक संरचना निर्माणको काम पनि भइरहेको छ । भवन विभागले कात्तिक २५ गतेभित्र सबै काम सक्ने जनाएको छ ।

भवन विभागका भवन निर्माण तथा सम्भार डिभिजन प्रमुख तपेन्द्रबहादुर खड्काले विद्युत् कटौतिले काममा केही अवरोध सिर्जना भए पनि लक्षित समयमै काम पूरा गरी ३० कात्तिकभित्रै पूर्व अभ्यास हुने जानकारी दिए ।

सार्कलाई लक्षित गरी ललितपुरमा वाग्मती पुलदेखि जावलाखेलसम्म सडक ओभरलेको काम भइरहेको छ भने भक्तपुरमा सडक पेटी रङ्गाउने, चर्चित धार्मिक स्थल डोलेश्वर महादेव र पाइलटबाबा आश्रमसम्मको सडक मर्मत र सुधारको काम अघि बढाइएको छ ।

डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख अशोक तिवारीले कात्तिक मसान्तसम्म सबै मर्मत र सुधारका काम सकिने बताए ।

नेपाल टेलिकमले सार्कका बेला उपत्यकामा जताततैबाट नेटवर्क चल्ने गरी सञ्चारलाई प्रभावकारी बनाउन टावर राख्ने काम अन्तिम चरणमा पु¥याएको जनाएको छ ।

सिंहदरबारको ग्यालरी बैठकमा सरकारको तर्फबाट सार्कका राष्ट्र प्रमुखका लागि दिवाभोज (लन्च) र रात्रिभोज (डिनर) आयोजना गरिँदैछ ।

शहरी विकास मन्त्रालयअन्तर्गत भवन विभागले ग्यालरी बैठक कक्षसहित राष्ट्रिय सभागृहको काम जिम्मेवारी लिएको छ ।

पुरानो बसपार्क एक साताअघि नै खाली गरिने

सार्क राष्ट्रका पाहुनाको सवारी पार्किङका लागि सार्क सम्मेलन कक्ष सभागृह पछाडिको सार्वजनिक बसपार्क एक साता अघिदेखि नै खाली गरिने भएको छ ।

त्यसैगरी सभागृह वरपरको सुरक्षालाई मध्यनजर गर्दै माइक्रोबस बिसौनीलाई पनि हटाएर अन्यत्रै व्यवस्था गरिने जनाइएको छ ।

सार्कलाई लक्षित गरी अन्तर्राष्ट्रियस्तरको मापदण्ड अनुरुप सडक लेन छुट्याइने छ ।

एसियाली सडक सञ्जालअनुसार सङ्केत पनि हुनुपर्ने मापदण्ड कायम गरिएको छ ।

सार्क राष्ट्र प्रमुखलाई आरामका लागि धुलिखेल

सार्कका राष्ट्र प्रमुखलाई एकदिन आरामका लागि धुलिखेलस्थित एक होटलमा राखिने भएको छ । त्यहाँ पुग्नका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ, जुन सम्बन्धित निकायबाट परीक्षण पनि भइसकेको छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>