समाचारशुक्रबार, कार्तिक ७, २०७१
तोकिएको समयमा संविधान जारी हुनेमा मन्त्रीहरुकै आशंका
रिपोर्टर्स क्लब नेपालको देउसी भैलो टोलीसँगको कुराकानीमा भौतिक योजना मन्त्री विमलेन्द्र नीधिले ८ माघभित्रै संविधान आउनेमा आशंका ब्यक्त गर्दै भने, “माघ ८ गते नै संविधान आउँछ भनेर नभनौ । यहि संविधानसभाले चाँही संविधान दिन्छ ।”
उनले दलहरु विवादित विषयमा सहमतिको लागि छलफलमा रहेको भन्दै सहमति हुन नसके प्रक्रियाबाट संविधान जारी गर्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचन क्षेत्र तय गरेर प्रदेश सभालाई नै सीमाङकनको अधिकार दिएर प्रदेशमा रहेको विवाद मिलाउन सकिने तर्क गरे ।
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीतले दलहरुवीच सहमतिको कुनै छाटकाट नदेखिएको भन्दै ८ माघमा कुनै प्रकारको भए पनि संविधानको मस्यौदा भने ल्याउनै पर्ने बताए ।
उनले ८ माघमा केही पनि दिन नसके मुलुक दुर्घटनामा फस्ने सम्भावना ब्यक्त गरे ।
स्वास्थ्य मन्त्री खगराज अधिकारीले तोकिएको समयमा संविधान जारी हुनु पर्ने भन्दै सात प्रदेश बनाउनु सबै भन्दा उपयूक्त हुने बताए । यद्यपि उनले प्रदेशको विवादलाई प्रदेशसभाबाट टुङग्याउन सकिने तर्क गरे ।
