समाचारआइतबार, कार्तिक ९, २०७१

निर्वाचन प्रणालीसम्बन्धी आयोगको नयाँ सुझाव

हिमालखबर

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले ९ कात्तिकमा सिंहदरबारमा गरेको छलफलमा आयोगले मिश्रित निर्वाचन प्रणालीले समस्या निम्त्याएको भन्दै नयाँ संविधानमा प्रत्यक्ष समानुपातिक प्रणाली अवलम्बन गर्न आग्रह गरेको छ ।

उक्त निर्वाचन प्रणालीमा एउटा मात्र मतपत्र हुने, मत बदर हुने सम्भवाना कम हुने र सबै वर्ग तथा क्षेत्र, तह तप्कालाई समावेश गर्न पनि सहज हुने भएकाले त्यस्तो सुझाव दिइएको प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले जानकारी दिए ।

विद्यमान मिश्रित निर्वाचन प्रणालीले विकृति निम्त्याएको र तोकिएको वर्ग तथा क्षेत्रको सोचे जति सहभागिता हुन नसकेकाले विभिन्न मुलुकमा पनि प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली अपनाइएको तथ्य पेस गर्दै आयोगले फरक खालको सुझाव दिएको प्रमुख आयुक्त उप्रेतीको भनाइ छ ।

प्रमुख दलहरूकाबीचमा भावी संविधानमा कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विषयमा सहमति हुन नसकेको अवस्थामा आयोगको सुझाव एउटा विकल्प हुन सक्ने देखिन्छ ।

यस्तै आयोगले निश्चित प्रतिशत मत प्राप्त गर्ने दललाई मात्रै राष्ट्रिय दलको मान्यता दिने गरी मत सीमा ‘थ्रेसहोल्ड’ राख्न पनि सुझाव दिएको छ । थ्रेसहोल्ड नहुँदा विकृति आएको भन्दै आयोगले न्यूनतम रूपमा पनि उक्त प्रणाली राख्न भनेको हो ।

यस्तै आयोगमा दलहरूले पेस गर्ने समानुपातिक निर्वाचन प्रणालीमा पनि कुन क्षेत्रको उम्मेदवार विजयी भएको हो भन्ने कुरा मतदाताले थाहा पाउने गरी राख्नुपर्ने र सूचीमा तल माथि गर्न नहुने व्यवस्था अपनाउन आग्रह गरेको छ ।

संविधानसभाको दुईवटै निर्वाचनमा दलहरूले आफूखुसी निर्वाचित हुने व्यक्ति चयन गरेका कारण समस्या पैदा भएको र जनतामा समेत नकारात्मक सन्देश गएकाले निर्वाचित उम्मेदवारको को हो त भन्ने थाहा दिन जरुरी रहेको सुझाव दिएको प्रमुख आयुक्त उप्रेतीले उल्लेख गरे ।

यस्तै महिला सहभागिता बढाउन क्रमैअनुसार महिला र पुरुष रहनुपर्ने र अल्पसङ्ख्यक क्षेत्र, वर्गको सहभागिता गराउनुपर्नेमा आयोगले जोड दिएको छ ।

मतपत्र दुईवटा हुँदा मतदाता झुक्किएको र मत बदर धेरै भएको भन्दै आयोगले जुनसुकै निर्वाचन प्रणाली अपनाउँदा समेत एउटै मतपत्रमात्र प्रयोग गर्ने व्यवस्था गर्न दलका शीर्ष नेताहरूलाई आग्रह गरेको हो ।

‘‘आयोगले विशेष गरी प्राविधिक विषयमा बढ्ता ध्यान केन्द्रित गरेर सुझाव दिएको छ, यसले दलहरूलाई निर्वाचन प्रणालीको विषयमा सहमति कायम गर्न बल पुग्नेछ ।’’ प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>