समाचारआइतबार, कार्तिक ९, २०७१

कांग्रेस र एमालेसँग एमाओवादीको छलफल

हिमालखबर

NC and UCPN Maoist Meeting at Baluwatar९ कात्तिक साँझ नेपाली कांग्रेस र एमाओवादी नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक सकारात्मक भएको नेताहरुले बताए पनि कुनै सहमति भने हुन सकेको छैन ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विवादित विषयमा सहमति जुटाउन आफूहरू लचकताका साथ प्रस्तुत भएको केही मात्र बाँकी रहेका असहमतिका विषयको पनि चाँडै टुङ्गोमा पुगिने बताऐ ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुईदलबीच विवादित विषयमा सकारात्मक छलफल भएको केही बाँकी रहेका विवादित विषयको एक दुई दिनमै टुङ्गो लगाइने बताए ।

विवादित विषयको अन्तिम टुङ्गो लगाउन काँग्रेस र एमालेबीच बैठक बसेर पुनः तीन दलको बैठक बस्ने दुई दलबीच सहमति भएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।

बैठकमा नेपाली काग्रेसका तर्फबाट प्रधानमन्त्री एवम् पार्टी सभापति सुशील कोइरालासहित वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला थिए भने एमाओवादीकातर्फबाट अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वरिष्ठ नेता बाबुराम भट्टराई सहभागी थिए ।

उत्तर दक्षिण जोडने गरी सक्दो थोरै प्रदेशः एमाले

एमाओवादी र एमालेका नेताहरुबीच पनि आजै साँझ शान्ति कोषको सचिवालयमा छलफल भए पनि समान धारणा बन्न सकेन ।

बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान निर्माणमा क्रममा देखिएका प्रमुख विवादित विषयमा गम्भीर छलफल भएको भन्दै पुनः दुई दलबीच औपचारिक अनौपचारिक संवाद गरिने सहमति भएको जानकारी दिए ।

संविधानसभाले यही कात्तिक १५ गतेसम्म विवादित विषयमा सहमति जुटाउने समयसीमा दिएको छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो पार्टीका तर्फबाट कमभन्दा कम प्रदेश बनाउनुपर्नेमा जोड दिइएको बताए । मुलुकले धान्ने र सबैले मान्ने गरी राज्य पुनःसंरचना गर्नुपर्ने र सबै जातजातिको भावनालाई समावेश गर्नुपर्ने धारणा राखिएको उनको भनाइ थियो ।

छलफलमा एमालेका तर्फबाट उत्तर दक्षिण जोडिने गरी थोरैभन्दा थोरै प्रदेश बनाउनुपर्नेमा जोड दिइएको थियो भने एमाओवादीले सहमतिका लागि आफूहरू आठ प्रदेशसम्म आउन सक्ने र पहिचानलाई विशेष ख्याल गर्नुपर्ने धारणा राखेको थियो ।

बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष गौतम र नेता माधवकुमार नेपाल तथा एमाओवादीतर्फबाट अध्यक्ष दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वरिष्ठ नेता बाबुराम भट्टराई सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>