समाचारसोमबार, कार्तिक १०, २०७१

तीन दलको बैठकमा शीर्ष नेता अनुपस्थित

हिमालखबर

गोकर्ण रिसोर्टमा पहिलो चरणको वार्ता गरेका नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीबीचको दोस्रो चरणको बैठकमा एमालेका शीर्ष नेताहरु अनुपस्थित भएका छन् । १० कात्तिकमा बस्ने भनिएको बैठकमा एमाले बाहेकका शीर्ष नेता मात्रै उपस्थित भएको एमाओवादी नेता नारायणकाजी श्रेष्ठले बताए ।

एमाले नेताहरु नआएपछि कांग्रेस र एमाओवादीका नेताहरु केहिबेर अनौपचारिक छलफल गरेर सिंहदरबारबाट बाहिरिएका थिए । न्याय, कानुन मन्त्री नरहरि आचार्यले शीर्ष नेताहरु बैठकमा अनुपस्थित भएपछि विषयमा प्रवेश नगरी बैठक स्थगित भएको बताए ।

राज्यको पुनर्संरचना, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका विषयमा सहमतिमा पुग्न भन्दै कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु १० कात्तिक बिहान संसद सचिवालय सिंहदरबारमा छलफलमा जुटेका हुन् ।

बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल सहभागी थिए ।

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले दलहरुकाबीचमा निर्वाचन प्रणाली र न्याय प्रणालीभन्दा शासकीय स्वरुप र राज्य पुनर्संरचनाकाबीचमा बढी दूरी रहेको बताए । उनले राज्य पुनर्संरचनाअन्तर्गत प्रदेशको सङ्ख्यामा भन्दा नामाङ्कन र सीमाङ्कनमा दलहरुका बीचमा कुरा मिल्न नसकेको उनले बताए ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले तीन दलका नेताहरुबीच अनौपचारिक बैठक बसेको जानकारी दिए । उनले ११ कात्तिकमा बस्ने समिति बैठकमा सहमतिमा पुग्ने विश्वास व्यक्त गरे ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>