समाचारमंगलबार, कार्तिक ११, २०७१
शीर्ष नेता नआएपछि आमन्त्रित बोलाएर बैठक
११ कात्तिकको बैठकमा कांग्रेसका प्रदिप गिरी र गगन थापालाई बोलाएर सम्वाद समितिको बैठक बसेको थियो । समितिका सभापति बाबुराम भट्टराईले अन्तिम समयसम्म सहमतिका लागि छलफल जारी राख्ने बताए । समितिले १४ कात्तिकसम्म समय पाएको छ ।
विवाद जहाँको तहीँ, बैठक निष्कर्षविहीन
विवादित विषयमा सहमति जुटाउन संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक बिना निष्कर्ष सकिने निरन्तरता तोडिएको छैन ।
११ कात्तिकमा बसेको बैठकले पनि कुनै निष्कर्ष निकाल्न सकेन । बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति एकदमै पातलो रहेकाले संविधानसभाका केही आमन्त्रित सदस्यलाई बोलाएर छलफललाई निरन्तरता दिइएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै समितिका सभापति डा. बाबुराम भट्टराईले प्रमुख विवादित विषयमा कुराकानी भएको र प्रमुख दलका शीर्ष नेतासँग अनौपचारिक छलफल गरी सहमति निर्माण गरिने जानकारी दिए । उनले १४ कात्तिकसम्म सहमतिका निम्ति छलफललाई जारी राख्ने बताए ।
समितिका सदस्य लक्ष्मणलाल कर्णले भने सहमति भएका विषयलाई मस्यौदा समितिमा पठाउने र सहमति हुन नसकेका विषयलाई अनुसूचीमा राखेर भएपनि पहिलो मस्यौदा तयार पार्ने गरी छलफललाई केन्द्रित गरिएको बताए ।
उनले दलहरुबीच शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा सहमति हुन सक्ने आधार तयार भएको तर राज्य पुनःसंरचनाको सन्दर्भमा सहमति हुन नसके अनुसूचीमा राखेरै भएपनि मस्यौदा तयार पार्ने गरी छलफल भएको बताए ।
थापाको छुट्टै प्रस्ताव
समितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी सभासद् गगन थापाले मिलेका विषयको एकीकृत मस्यौदा बनाएर नमिलेका विषयलाई अनुसूचीमा राखेर भए पनि मस्यौदा जारी गर्नुपर्ने प्रस्ताव राखे ।
शीर्ष नेताहरुले सहमति जुटाउन पनि नसक्ने र प्रक्रियामा जान पनि नसक्ने स्थितिलाई पूर्णबिराम दिन पनि उक्त प्रस्ताव जायज भएको उनको भनाई थियो ।
सधैँ आ–आफ्नै अडान मात्र राख्ने र फरक कोणबाट छलफल नगर्ने प्रवृत्तिका कारण सहमति जुट्न नसकेको धारणा राख्दै सभासद् थापाले आफूले राखेको प्रस्ताव मध्यमार्गी भएको बताए ।
