समाचारमंगलबार, कार्तिक ११, २०७१
सर्वोच्चद्वारा दूरसञ्चार प्राधिकरणको अध्यक्षमा झाको नियुक्ति सदर
सर्वोच्च अदालतले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झाको नियुक्तिलाई सदर गरेको छ । ११ कात्तिकमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र न्यायाधीश गिरीशचन्द्र लालको संयुक्त इजलासले यसअघिको सर्वोच्चकै अन्तरिम आदेशलाई निष्क्रिय गर्दै झाको नियुक्तिलाई सदर गरेको हो ।
मेकानिकल इन्जिनियर झा नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक हुन् ।
आदेशमा भनिएको छ, “निवेदक विश्वनाथ गोयलले सो पदमा नियुक्तिका लागि छनोट प्रक्रियाको प्रारम्भमा नै असहमति गर्नुपर्ने कुरा नियुक्ति सम्पन्न भइसकेपछि विवाद उठाई दायर भएको रिट सफा हात, सफा हृदय र सफा उद्देश्यले नआएकाले अदालतले मद्दत गर्न नसक्ने हुँदा मागबमोजिमको आदेश जारी गर्न मिलेन ।”
दूरसञ्चार ऐनको दफा ५(१) तथा सोही ऐनको नियमावलीबमोजिम दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा स्नातक भई सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव हुनुपर्नेमा मन्त्रिपरिषद्ले गत १९ मंसीर २०६९ मा झालाई दिएको नियुक्ति बदरभागी भएको भन्दै नियुक्ति कार्यान्वयन नगर्न नगराउन तेस्रो नम्बरमा रहेका प्रत्याशी गोयलले रिट दायर गरेक थिए ।
