समाचारमंगलबार, कार्तिक ११, २०७१
एमाओवादी समक्ष एमालेको नयाँ प्रस्तावः ‘चार प्रदेश बनाऔं’
एमाओवादी र एमालेका शीर्ष नेताहरुबीच ११ कात्तिक दिउँसो विवादित विषयमा सहमति जुटाउन बसेको बैठक बिना निष्कर्ष सकिएको छ । बैठकमा एमाओवादी र एमालेबीच प्रदेशको संख्यामा सहमति जुट्न सकेन ।
एमाओवादीले आफ्नो पुरानै १० प्रदेशको अडान लिएका थिए भने एमालेले नयाँ प्रस्ताव राखेको छ । एमालेका शीर्ष नेताहरुले चार प्रदेश हुनुपर्ने अडान लिए ।
एमालेले आफ्नै घोषणापत्र भन्दा बाहिर गएर प्रदेशको संख्यामा अडान लिएका थिए । ०६९ असार ७ र ८ गतेको केन्द्रीय कमिटी बैठकबाट पारित सात प्रदेशको संघीयता हुने प्रस्ताव एमालेले घोषणापत्रमा पनि उल्लेख गरेको छ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतम सहभागी थिए भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षहरु बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी थिए ।
यसअघिको छलफलहरुमा सात प्रदेश भन्दै आएको एमाले एमाओवादीले १० प्रदेशको अडान नछोडेपछि चार प्रदेशमा झरेको छ ।

