समाचारआइतबार, कार्तिक १६, २०७१
एमाले–कांग्रेसले उद्योग धराशायी बनाएः मन्त्री बस्नेत
भक्तपुरको मध्यपुरथिमीमा आयोजित कार्यक्रममा बोल्दै उद्योग मन्त्री महेश बस्नेतले २०४६ सालपछि सत्तामा पुगेका कांग्रेस र एमालेले देशका उद्योग धन्धा धराशायी पारेको आरोप लगाएका छन् ।
देशमा बहुदल आएपछि शिक्षा, सञ्चार, स्वास्थ्य, प्रविधिलगायतका क्षेत्रमा उल्लेख्य विकास एवम् प्रगति भए पनि त्यसैबेलादेखि भएका उद्योग बन्द हुने क्रम शुरु भएको बस्नेतको भनाई थियो ।
उनले भने, “बहुदल आएपछि उद्योग धरासायी बन्दै गयो, बाँसबारी छाला जुत्ता उद्योगदेखि भृकुटी कागज हुँदै विराटनगर जुट मिलसमेत बन्द भए, यसको दोष त्यतिखेर सरकार चलाउनेले लिनुपर्छ ।”
औद्योगिक क्षेत्रका कैयौं जग्गाहरू कौडीको भाउमा भाडामा दिएर दुरूपयोग गरिरहेको बताउँदै उनले बहुदल आएपछि उद्योगको क्षेत्रमा गौरव गर्ने ठाउँ नपाएको बताए ।
२०४६ पछि धेरै समय नेपाली कांग्रेस र थोरै समय एमालेले सरकार चलाएको चर्चा गर्दै उनले भने, “बहुदल आएपछि कांग्रेसको भागमा कति प्रतिशत र एमालेको भागमा कति प्रतिशत दोष छ, हात उठाएर दुवै पार्टीले स्वीकार्नुपर्छ ।”
माओवादीले देश धरासायी बनाएको, उद्योगधन्दाको विकासमा बाधा पुर्याएको भन्दै उनले माओवादी जन्माउन पनि कांग्रेस, एमालेको कति प्रतिशत भूमिका छ, त्यसको समीक्षा हुनुपर्ने जिकिर गरे ।
धेरै पछि भक्तपुरले मन्त्री पाएको भन्दै मन्त्री बस्नेतले थपे, “भक्तपुरको विकासमा ज्यान दिएर लाग्नेछु, भक्तपुरको शीर सधैँ उच्च बनाउने छु, भक्तपुरका बासिन्दाको शीर निहुरिने काम म कहिल्यै गर्ने छैन ।”
