समाचारसोमबार, आश्विन २२, २०६९
पुनःस्थापनाका बारेमा छलफल गर्दै कांग्रेस
पुनःस्थापनाका बारेमा छलफल गर्न कांग्रेसले आज दिउँसो १ बजेपछि नयाँ बानेश्वरमा विघटित संविधानसभाका सभासद्हरुको भेला बोलाएको छ । पुनःस्थापनाका पक्षधर मानिएका कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भेला बोलाएका हुन् । भेलामा नयाँ निर्वाचनको पक्षमा देखिएका सभापति सुशील कोइराला पनि सहभागी हुने कांग्रेस नेताहरुले वताएका छन् ।
भेलामा संविधानसभा पुनःस्थापना की नयाँ चुनाव भन्नेबारेमा छलफल हुने पूर्व सभासद् शोभाकर पराजुलीले वताए । पूर्वसभासद रमेश लेखकले भेलामा पुनःस्थापनाका विषयमा मात्रै नभई पार्टीको आन्तरिक र बाह्य राजनीतिका सबै विषयमा छलफल हुने बताए । भेलामा काठमाडौंमा रहेको सबै पूर्व सभासदहरुको सहभागिता रहने उनले जानकारी दिए ।
काङ्ग्रेसभित्र संविधानसभा पुनःस्थापनाको मत पनि बलियो रहेकाले दलहरुसँग चुनावमा जाने सहमति गरेपनि पार्टीले औपचारिक निर्णय गर्न सकेको छैन ।
कांग्रेसमा पुनःस्थापना वा चुनाव भन्नेबारेमा नेताहरुमा मतैक्य नभएपछि यस विषयमा विवाद रहँदै आएको छ ।
