समाचारबिहीबार, कार्तिक २०, २०७१
अख्तियारले अनुसन्धान थालेपछि राजीनामा दिनेको लर्को
पाल्पाका एक शिक्षकले जाली सर्टिफिकेट पेश गरी जागिर खाएको उजुरीमाथि अख्तियारले अनुसन्धान थालेपछि पाल्पामा एक महिनामा २५ जना शिक्षकले राजीनामा बुझाएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जानकारी दिएको छ ।
स्रोतका अनुसार राजीनामा बुझाउने शिक्षकको संख्या ६० बढी पुग्ने अनुमान गरिएको छ ।
एक शिक्षकले भारतको विश्वविद्यालयबाट जाली सर्टिफिकेट किनेर जागिर खाएको उजुरी परेपछि अख्तियारले जिल्लाका सबै शिक्षकको कागजात तयार पार्न शिक्षा कार्यालयलाई निर्देशन दिएको थियो ।
शिक्षा कार्यालयले कागजात माग्न थालेपछि कारबाहीमा परिने डरले उनीहरुले राजीनामा दिएको बुझिएको छ ।
राजीनामा दिनेमा अधिकांश पेन्सको अवधि पुगेकाहरु रहेका छन् ।
पहिल्यै भातरबाट १२ कक्षा पास भएको प्रमाणपत्र बुझाएका शिक्षकले धेरै पछि नेपालबाट एसएलसी पास गरेको भेटिएको पनि शिक्षा कार्यालय स्रोतले जानकारी दिएको छ ।
देब पचभैया, पाल्पा
